

काठमाडौँ । शिव सेना नेपालको नेतृत्वमा सगोरा नेपाल, झाँक्री संघ, आरोहण लगायतका विभिन्न धार्मिक संस्थाको चर्काे विरोधका बीच ईसाई पन्थीले काठमाडौँको बग्गीखानास्थित योगम्बर पार्टी प्यालेसमा गर्ने भनेको चङ्गाई कार्यक्रम स्थगित भएको छ ।



उक्त कार्यक्रम सातदोबाटोस्थित एन्फा भवन पछाडि रहेको चोला मण्डलीमा हुने भएको छ । फेसबुकमा फेला परेको एउटा पत्रमा नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबि गहतराजको पनि हस्ताक्षर छ, जसमा भनिएको छ, ‘देशको वर्तमान परिस्थितिलाई मध्यनजर गरी योगम्बर पार्टी प्यालेसमा नगर्ने र चोला मण्डलीमा गर्ने निर्णय भएको छ ।’

पत्रमा कार्यक्रममो तय मिति पनि संशोधन गरिएको छ । यस अघि, चैत ३०, बैशाख १ र २ गते कार्यक्रम गरिने हल्ला थियो । पत्रमा चाहिँ चैत्र २८, २९ र ३० गते मिति राखिएको छ ।
सुरूमा यो कार्यक्रम ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा आयोजना हुने भएको थियो । उक्त कुरा सार्वजनिक भएपछि शिव सेना नेपाल मजदुर बिभाग प्रमुख मनोज सापकोटा,केन्द्रीय सदस्य सृजना वाग्ले नेतृत्वको टोलीमा सगोरा नेपाल र आरोहरणका सदस्यहरूले ललितपुर जिल्ला प्रशासन कार्यालय तथा जेभियर्स स्कुललाई समेत कार्यक्रम स्थगनका लागि दबाब दिएका थिए । त्यहाँ कार्यक्रम गर्न नमिल्ने अवस्था आएपछि स्थान परिवर्तन गरेर योगम्बर पार्टी प्यालेसमा कार्यक्रम राखिएको थियो ।