
काठमाडौं : संसद सभामुख बिहीन भएको तीन महिना बितिसक्यो । तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा असोजमा पक्राउ परेपछि संसद सभामुख बिहीन छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा संसदमा बुहमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै किचलो छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भए पनि सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन।



अध्यक्षद्वयको आ–आफ्नै गोजीका नेतालाई सभामुख बनाउनुपर्ने अडानले पनि उनीहरुबीच सहमति हुन नसकेको हो । पटकपटकको छलफलमा समेत सभामुख कसलाई बनाउने भन्ने टुंगोमा नपुगेका ओली र प्रचण्डलाई च्यालेन्ज गर्दै अहिले राष्ट्रपति विद्या भण्डारीसमेत आफ्नै गोजीका नेतालाई सभामुख चयन गर्न नेकपाभित्र चलखेल गरिरहेकी छिन् ।

नेकपाभित्र राष्ट्रपति भण्डारीको चलखेल कति छ भन्ने कुरालाई मंसिर २९ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक बस्दाबस्दै भण्डारीले ७ जना नेताहरुलाई शीतलनिवास बोलाएर छलफल गर्नुले पुष्टि गर्छ ।
सभामुख चयनमा नेकपाभित्र तीन समूह छ । ओलीको सुवास नेम्वाङ, प्रचण्डका अग्नि सापकोटा र राष्ट्रपति भण्डारीकी शिवमाया तुम्बाहाम्फे (हाल उपसभामुख)। जसले नेकपाभित्र विवाद हुँदै आएको छ। ओली र प्रचण्डबीच सभामुख चयनमा विवाद भइरहँदा नेकपाको राजनीतिभित्र राष्ट्रपति भण्डारीको हस्तक्षेपले झन् सकस हुँदै गएको छ ।
पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन सभामुख चयनका लागि भन्दै पुस ११ गतेसम्म स्थगित भयो । तर सभामुख चयनमा सहमति हुन नसक्दा ११ गते बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर पुस १६ गतेसम्मका लागि स्थगित गरियो । यो बीचमा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने तयारी नेकपाभित्र थियो । तर राष्ट्रपति भण्डारीको हस्तक्षेपपछि उचित समयमा दिने भन्दै तुम्बाहाम्फेको राजीनामा पनि रोकियो।
अन्नपूर्ण पोस्टमा मा खबर छ ।