
पोखरा,

पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षक करार नियुक्ति माग्दै आन्दोलनमा उत्रिएका छन् । क्याम्पस प्रशासनसँग उनीहरुले दैनिक ज्यालादारी हटाएर करार सेवामा नियुक्ति गर्न माग गर्दै आइतबारदेखि अनिश्चित कालका लागि आन्दोलनमा उत्रिएका हुन् ।




नेपाल आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी लामो समयदेखि प्रशासनले आफ्ना मागहरुको सुनवाइ नगरेको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको जनाएको छ ।
क्याम्पस इकाइका अध्यक्ष सुनिल गौतमले आफूहरुले राखेका मागहरुको सुनावाइ नभएपछि माघ १३ गतेदेखि क्याम्पसमा पठनपाठन कार्य अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिए । माग पूरा नभए सामूहिक राजीनामा दिनसमेत आफूहरु तयार रहेको उनले बताए ।
‘बेरोजगर भएर क्याम्पस खोज्दै हामीहरु आएका होइनौं’, उनले भने, ‘क्याम्पस प्रशासनले आवश्यकता पूरा गर्न हामीलाई ल्याएको हो, अब दैनिक ज्यालादारी हटाएर हामीलाई करार नियुक्ति गर्नुपर्छ ।’ आन्दोलनमा साथ दिन इकाइले सबैलाई आग्रह गरेको छ । पृथ्वीनारायण क्याम्पसमा कुल ५ सय ४९ प्राध्यापक छन् । तिमध्ये २१८ जना आंशिक छन् ।
कुल कक्षाभारको ७० प्रतिशत कार्य वहन आंशिक शिक्षकहरुले गरेको इकाइका अध्यक्ष सुनिल गौतमले बताए । ‘पृथ्वीनारायण क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्रको साथै नेपालकै उत्कृष्ट क्याम्पसको उपाधि लिइसकेको छ’, उनले भने, ‘उत्कृष्ट क्याम्पसले कार्यरत आंशिक प्राध्यापकहरुको मर्का बुझ्न नसक्दा दुख लाग्छ ।’