निर्माण उद्योगमा कोभिडको कहरः म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) का कारण गत वर्ष झै यस पटक पनि निर्माण उद्योग मारमा पर्ने भएका छन् । देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको  छ ।

यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायीहरू अहिलेको विषम अवस्थाको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको महासंघको भनाइ छ । तोकिएको समयमा सम्पन्न हुन नसकेका परियोजनाहरूमा व्यवहारिक रुपमा म्याद थप गरी व्यवसायीहरूलाई राहत दिन महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति मार्फत् सम्बन्धित् सबै निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिज्ञापन

अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्व लगायतका कारणले गर्दा व्यवसायीहरूले गत वर्ष र यस वर्ष समेत निर्माण कार्यहरु गर्ने फागुन देखि असार सम्मको मुख्य दुई सिजनहरु गुमाएको समयलाई शून्य समय (कन्स्ट्रक्सन होलिडे) मानी हाल संचालित सम्पूर्ण निर्माण कार्यहरुको लागि एकमुष्ट एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गरिनु पर्ने महासंघको माग छ ।

यसैगरी, सबै बोलपत्रहरुको म्याद कम्तिमा १५ दिन थप गर्न पनि महासंघले जोडदार माग गरेको छ । कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीहरूले पाउनु पर्ने अरबौं अरब रुपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजश्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरहरुको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको महासंघले जनाएको छ ।

साथै राज्यले जारी गरेको सूचनाको अक्षरस पालना गरी कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणमा आ–आफ्नो ठाउँबाट पहल गर्न देशभरका तमाम व्यवसायी साथीहरूलाई महासंघले अपील गरेको छ ।