
कोरोना संक्रमितको संख्यासँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ । माग बढेसँगै सिलिन्डरको अभावले गर्दा समयमै अक्सिजन आपूर्ति हुन नसकेको धारणा सरकारी पक्षले राखिरहँदा ललितपुरमै करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ ।
भैंसेपाटी जाने बाटोमा पर्ने मल पोखरीस्थित खाली जग्गामा ती सिलिन्डर त्यत्तिकै फ्यालिएको अवस्थामा पाइएको हो । समाजसेवी अन्सु यादवका अनुृसार उनलाई एकजना मित्रले ती सिलिन्डरको बारेमा जानकारी दिएका हुन् ।
‘कोरोना महामारीमा अक्सिजनको अभाव हुने बिरामीलाई मैले अक्सिजन उपलब्ध गराएर सहयोग गर्दै आएको छु, त्यो थाहा पाएर मल पोखरीतिर बस्ने मेरो एकजना साथीले मलाई ती सिलिन्डरबारे जानकारी दिएका हुन् ।
आफूहरु त्यहाँ पुग्दा फिल्डमा त्यत्तिकै ती सिडिण्डर फ्यालिएको अवस्थामा फेला परेको उनले बताए । छरछिमेकमा सोध्ने प्रयास गरे पनि कोही घरबाट ननिस्केको कारण सिलिन्डर कसको हो भन्ने पत्ता लगाउन नसकेको यादव बताउँछन् ।
‘त्यहाँका वडा अध्यक्षलाई पनि फोन गरेँ, फोन उठाउनु भएन,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिहरु पनि त्यो सिलिन्डर का बारेमा बेखबर रहेकोजस्तो पाएँ ।’
उनले करिब पाँच सयको संख्यामा ती सिलिन्डर रहेको र धेरैजसो काम लाग्ने अवस्थाकै रहेको पनि बताए ।
अन्सु यादव समाजसेवामा सक्रिय रहँदै आएका छन् । २०७६ चैत ११ गते लकडाउन सुरु भएदेखि नै उनले भोकाएकाहरुलाई निःशुल्क खाना खुवाउँदै आएका छन् । कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभाव हुन थालेपछि उनले खोजीखोजी कोरोना पीडितलाई अक्सिजन पु¥याउने काम गरिरहेका छन् ।
उनी ‘१०० ग्रुप्स’ नामक संस्थाको माध्यमबाट कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई अक्सिजन उपलब्ध गराउने, खाना खुवाउनुको साथै आवश्यक सहयोग गर्दै आइरहेका छन् ।