एमसीसीमा हतार नगराैं ;सभामुख सापकोटा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रस्तावमा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका अग्नि सापकोटाले आफूविरुद्ध सडकमा लागेको नारा र विरोध प्रदर्शनलाई ‘लोकतन्त्रमा चलिरहने प्रक्रिया’ भएको टिप्पणी गरेका छन् ।

 

बिज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सभामुखको कार्यभार सम्हाल्न सिंहदरबारस्थित संसद् सचिवालय पुगेका सापकोटालाई सडकमा तपाईंका विरोधमा आएका आवाजलाई कसरी लिनुभएको छ भन्ने प्रश्नको जवाफमा सापकोटाको प्रतिक्रिया थियो, ‘यो लोकतन्त्र हो क्या ।’

 

उनले अदालतका विषयमा भएका कुरामा म बोल्न चाहन्नँ भन्दै लोकतान्त्रिक प्रक्रियामा चलिरहने प्रक्रिया हो भनेर यस्ता विरोधका घटनालाई आफूले बुझ्ने गरेको जनाए ।

 

एमसीसी सदनबाट पारित गर्ने विषयमा अहिले बहस छेडिएको भन्दै सापकोटाले प्रश्न गरे, ‘जब बहस छेडिन्छ नि, अनि निचोडतिर जान्छ । अध्ययन गर्दै जाऔं न, सबैले । अहिले यसमा किन हतार गर्नुपर्‍याे ?’

सापकोटाले भने, ‘संसदमा दर्ता भएका विधेयकहरु संकल्प प्रस्ताव, सार्वजनिक महत्त्वका प्रस्तावहरूलाई प्राथमिकताक्रममा छुट्याएर लगिन्छ, अनि संसदलाई प्रभावकारी रूपमा चलाउन जीवन्त र सजीव रूपमा अघि बढाउनेछौं ।’

 

उनले आफू सभामुख भएपछि जनताको आशा र विश्वास जगाउने किसिमले काम गर्ने विश्वास दिलाउँदै संसद् सचिवालय र विधेयकका बारेमा सारा दिमाग केन्द्रित गरी अध्ययन गरिसकेपछि मात्र आफ्नो धारणा प्रस्ट राख्ने बताए ।

 

पहिले राम्रोसँग बुझेर बोल्ने जिम्मेवारी इतिहासले आफूलाई दिएको भन्दैै सापकोटाले प्रधानमन्त्री आफूलाई सभामुख प्रस्ताव गर्ने पार्टीको अध्यक्ष र संसदीय दलको नेता भएका कारण स्वाभाविक रूपमा प्रधानमन्त्रीबाट भेटको सुरुवात गरेको स्वीकार गरे । उनले संसदको मूल्य मान्यता र गरिमा आफूले बचाउने विश्वास व्यक्त गरे ।

 

सभामुख अग्नि सापकोटाले पदभार ग्रहण गरेलगत्तै उनलाई सिंहदरबार पुगेर चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएकी छन् ।

 

पदभार ग्रहणपछि सापकोटालाई बधाई दिन पुगेकी राजदस्त यान्छीले कार्यकाल सफल हुने विश्वास व्यक्त गरिन् । सभामुखलाई बधाई दिन सिंहदरबार पुग्ने यान्छी पहिलो कूटनीतिज्ञ हुन् ।