काठमाडौं । आज बिहानै भैरहवामा भएको भयानक दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । आज विहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । भैरहवा–भुमही सडक खण्डमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रुपन्देहीको रोहिणी गाँउपालिका ४ मा ३ वटा ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको जानकारी दिइएको छ ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएको बताइएको छ ।