
मोरङ। प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गर्ने मन्त्रालयले जनाएको छ ।




सरकारी कार्यालयको १०० मिटरमा सो पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको र यही माघ महिनाभित्रमा विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने शैक्षिक संस्था, अस्पताल र सार्वजनिक स्थानमा नियम लागू गरिसक्ने महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए ।‘

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ सेवनले मानिसलाई लाभभन्दा पनि हानि बढी गर्ने भएकाले यसतर्फ सेवनकर्ता चनाखो हुनुपर्ने बताए । अभियानले प्रदेश नं १ का सबै मन्त्रालयमा सुर्तीजन्य पदार्थविरुद्धको ब्यानर टास्ने काम सम्पन्न गरेको छ ।