ओमकार फलोअप : प्रहरी कार्यलयको नाकैमूनी फार्मेसीले गर्छन् लागुओैषध कारोबार , प्रहरी मौन

 

सान नेपाल 

बिज्ञापन

झापा / दमक
थानारोड आसपासका फार्मेसीमा डाक्टर फार्मेसी सञ्चालकको फार्मेसी मोह बिषयमा ओमकार टाइम्सले एक पछी अर्को पर्दाफास गर्न थालेपछि अहिले थानारोडका फार्मेसीहरुमा खैलाबैला मच्चिएको छ । हस्पिटलमा काम गर्दा थोरै कमाइ हुने भन्दै फार्मेसीमा आएर महंगो भाउ उठाउदै चेक जाँच गर्न पल्किएका र करोडौं रकम कर छली गर्ने डाक्टर तथा फार्मेसीको अबैध क्रियाकलापको पर्दाफास भएकोले उनीहरुमा त्रास बढेको पाइएको हो ।

 

यसैबीच थानारोड आसपासमै रहेर बिरामीको उपचारका नाममा खुलेआम तस्करी गरिरहेका केही फार्मेसीमा  खुलेआम रूपमा लागू औषध कारोबार गर्ने गरेको खुलेको छ ।  स्कुल तथा कलेज पढ्ने विद्यार्थीहरु त्यस्ता फार्मेसीमा आएर  नाइट्रोजन 10, नाइट्रोभ्याट 10, यस. पी.  जस्ता लागुऔषधहरु खुलेआम रूपमा बिक्रि हुनेगरेको स्वयं प्रयोगकर्ताहरुले नै बताउने गरेका छन् ।

 

एक दुई वटा फार्मेसीमा त लागुऔषध प्रयोगकर्ता ग्राहकहरु मात्र झुम्मिने गरेको आसपास रहेर अन्य व्यवसाय गर्नेहरु बताउछन् । नाम नखोल्ने सर्तमा एकजना व्यवसायीले भने, ‘प्रहरी प्रशासनलाई सवै थाहा छ, यहाँ सेट्टिङमा लागुऔषधको कारोबार हुन्छ ।’  उनले फार्मेसीको नाम बताउन चाहेनन् यद्यपि उनले युवाहरूलाई लागू औषधको दलदलमा फसाउने खेलमा औषधि पसलहरु खुलेआम लागिपरेको बताए ।लागुऔषधको कारोबार पर्दाफास भएपछि हप्दा दिन सम्म त्यस्ता औषधि पसलहरु बिना जानकारी अचानक बन्द हुने गरेको समेत ती व्यवसायीले ओमकार टाइम्स लाई बताए ।

 

भारतीय बजारमा पाइने निषेधित औषधिहरु केरियर मार्फत झिकाउने गरेको समेत बुझिएको छ । यौन पावर बढाउने नाममा युवायुवती माझ  प्रयोगमा आउने गरेको भिएग्राको डिलर थानारोड नै भएको श्रोतको दावी छ ।दमक क्षेत्रमा राम्रै भाउ पाएका र ठुला भनिने औषधि पसलेहरुले समेत केरियर मार्फत औषधि आयात गर्ने गरेको र राज्यलाई बुझाउनु पर्ने कर सबै आफ्नै खल्तीमा राखिने गरेको श्रोत बताउछ ।  आयात गर्न र बेचबिखन गर्न रोक लगाएको औषधिहरु अबैध बाटोबाट भित्र्याएर खुलेआम रूपमा सर्वसाधारणलाई ठग्ने गरेको श्रोतको निष्कर्ष छ ।

 

खुलेआम रूपमा अबैध धन्दा भइ रहदा समेत छिमेकमै जोडिएको दमक प्रहरी कार्यालय मौन बस्नुलाइ निकै आश्चर्यजनक रुपमा हेरिन थालिएको छ ।   सय मिटरको दुरीमा हुने गरेको अबैध क्रियाकलापलाई बेवास्ता गर्ने दमक प्रहरी नै सेटिङमा चलेको हो कि भन्ने आशंका समेत गर्न थालिएको छ ।

 

हामी उनीहरुलाई करको दायरामा ल्याएरै छोड्छौं, अबैध कारोबार नियन्त्रण गर्छौ – राजस्व हाकिम

 

आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख राम प्रसाद पाठकलाई फार्मेसीहरुको कर्तुत बारे राम्रै जानकारी रहेकोे बुझिएको छ । ‘लिखित र मौखिक रूपमा बारम्बार फार्मेसीहरु लाई कानुनी दायरामा आउन भन्यौं, छड्के अनुगमन गरेर उनीहरुको गतिविधिमा नियन्त्रण गर्ने प्रयास भएकै छ, एकताका करोडौं राजस्व असुली समेत गरियो र निकट भविस्यमा नै अर्को अनुगमनको तैयारी भइरहेको छ, तेस्रो बाटो बाट आएका औषधि बेच्न र अबैध धन्दा गर्न कसैलाई छुट छैन, त्यस्ता औषधि पसल बन्द गरिनुपर्छ, आन्तरिक राजस्व कार्यालयले कसरी एक्सन लिन्छ त्यो उनीहरुलाई राम्रोसँग थाहा छ’, पाठकले सुनाए ।

 

करको दायरामा पनि नआउनु र नेपाली बजारमा बेच बिखन गर्न रोक लगाइएका हाइडोजका पेनकिलर खोज्दै आउने जो सुकैले सहजै रूपमा पाउन सक्नुलाई राज्यले नागरिक स्वास्थ्यमा कसरी खेलवाड गर्दैछ सहजै अनुमान लगाउन सकिन्छ ।

 

ओमकार फलोअप पढ्दै गर्नुहोला । तपाईंका अमुल्य सुझावको सदैव स्वागत गरिनेछ र महत्त्वपूर्ण सूचनाका श्रोतहरु गोप्य राखिने छ ।