कोरियाली राजदूतलाई इपिएस कोरियाको कोटा वृद्धि गर्न श्रममन्त्रीको  आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपाली श्रमिकका लागि इपिएस कोरियाको कोटा वृद्धि गर्न कोरियाली राजदूत पार्क योङ्सिकलाई आग्रह गरेका छन् ।

 

बिज्ञापन

हिजो (सोमबार) दक्षिण कोरियाली राजदूत योङ्सिकसँग भेट गर्दै श्रममन्त्री यादवले नेपाली युवाहरूका लागि कोरिया आकर्षक श्रम गन्तव्य मुलुक भएकोले इपिएस कोरियाको कोटा वृद्धि गर्न आग्रह गरेका हुन् ।

 

नेपाली युवाहरू भाषा र सीप परीक्षा पास गरे पनि लामो समय प्रतीक्षामा बस्नुपर्ने बाध्यता रहेको जानकारी दिँदै मन्त्री यादवले कोटा वृद्धि भएमा त्यो अवस्थामा केही कमी आउने बताए ।

 

कोरियामा रहेका नेपाली श्रमिकलाई कोरियाको पेन्सन प्रणालीमा पनि समेट्न उनले राजदूत योङ्सिकसँग आग्रह गरे । इपिएस प्रणालीलाई थप मर्यादित र व्यवस्थित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको समेत श्रममन्त्री यादवले बताए ।

 

भेटमा कोरियाली राजदूत योङ्सिकले नेपाली श्रमिकको प्रशंसा गर्दै इपिएस भाषा परीक्षा थप व्यवस्थित गर्न कम्प्युटरमा आधारित परीक्षा (सिबिटी) सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण कार्यमा जोड दिनुपर्ने बताए ।

 

कोरियामा नेपाली कामदारको आत्महत्या प्रवृत्तिबारे चिन्ता व्यक्त गर्दै त्यसको व्यवस्थापनमा कोरिया सरकारले आवश्यक कार्य गर्ने बताउँदै उनले नेपाली श्रमिकलाई राम्रो पारिश्रमिक, सुविधा प्रदान गर्दै परिवारसँगको सम्पर्क अझ सहज बनाउन पहल गरिने बताए ।