सञ्चारमन्त्री बाँस्कोटामाथि कमिसन बार्गेनिङको आरोप, बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ ।

 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सो अडियो टेपमा सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेका छन् ।

 

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीचको सो संवादमा उनीहरुबीच घुसको बार्गेनिङ चलेको छ । बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेका छन् ।

 

यस विषयमा सरकारको भने कुनै धारणा आइसकेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे सरकारको तत्काल कुनै धारणा नआउने संकेत गरेका छन् । उनले यसबारे प्रतिक्रिया माग्दा सञ्चारमन्त्री बास्कोटाले नै यसबारे स्पष्ट पार्नसक्ने बताए ।

 

यता, सञ्चारमन्त्रीले घुस मागेको अडियो बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भने तत्कालीन माओवादी नेताबीच छलफल भएको छ ।

 

सो विषयमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादलबीच कुराकानी भएको बताइएको छ । यद्यपि सो छलफल के विषयमा केन्द्रित भयो भन्ने जानकारी दिइएको छैन ।

 

बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

 

नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बार्गेनिङ गरेको अडियो बाहिर आएपछि बर्खास्त गर्न माग गरेका हुन् ।

 

शर्माको विज्ञिप्तिमा भनिएको छ, ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

 

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा ७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा उनलाई तत्काल बर्खास्त गरेर निस्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ ।