५ प्रदेशका प्रहरी प्रमुखदेखि प्रहरीका महत्त्वपूर्ण विभाग १२ दिनदेखि नेतृत्वविहीन

१२ दिनदेखि प्रदेश प्रहरी प्रमुखदेखि प्रहरीको अन्य महत्त्वपूर्ण विभाग नेतृत्वविहीन भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित तीन अतिरिक्त प्रहरी महानीरीक्षक (एआईजी) र १९ प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएपछि प्रहरीको महत्त्वपूर्ण विभाग नेतृत्वविहीन भएको हो ।

 

बिज्ञापन

खनालसहितका उच्च प्रहरी अधिकारीले २८ माघमा अनिवार्य अवकाश पाएका थिए । तर, अवकाश पाएपछि नेतृत्वविहीन भएका प्रदेश र अन्य महत्त्वपूर्ण विभागमा बढुवा प्रक्रिया रोकिँदा प्रहरी प्रमुखविहीन बन्न पुगेको छ ।

 

सरकारले आईजीपी ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति गर्नुबाहेक अन्य उच्च प्रहरी अधिकारीको बढुवा प्रक्रिया नै बढाएको छैन ।

 

बढुवा प्रक्रियामा जान अझै केही दिन लाग्ने प्रहरी प्रधान कार्यालयको बुझाइ छ । एसएसपीदेखि माथिको बढुवा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ ।

 

डीआईजी र एआईजी बढुवाको रोकिँदा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देखि प्रहरी नायव उपरीक्षक (डीएसपी) सम्मको बढुवा रोकिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार १३ एसएसपी, ६ एसपी र ४५ डीएसपीका पदहरू हाल रिक्त छन् ।

 

यी हुन् नेतृत्वविहीन भएका प्रदेश र अन्य विभाग

 

प्रदेश प्रहरी कार्यालयहरू बागमती, गण्डकी, कर्णाली १ नम्बर प्रहरी प्रदेश र ५ नम्बर प्रदेश प्रहरी नेतृत्वविहीन छन् ।

 

त्यसरी नै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नेपाल प्रहरी तालिम केन्द्र, मानव स्रोत एवं प्रशासन विभाग, अन्वेषण निर्देशनालय, लागूऔषध नियन्त्रण ब्युरोजस्ता महत्त्वपूर्ण विभाग प्रहरी प्रमुखविहीन छन् ।

 

एआईजी र डीआईजी प्रमुख भएका विभागहरू हाल एसएसपीको भरमा चलेका छन् । निमित्तका भरमा प्रहरी कार्यालय चल्दा अपराध अनुसन्धानदेखि ठूला घटनामा निमित्त प्रहरी प्रमुखले जोखिम मोल्न अप्ठेरो हुने गरेको पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लको बुझाइ छ ।

 

एआईजीका मुख्य दाबेदार

 

एआईजीको दौडमा हालका प्रहरी महानिरीक्षककै समकक्षी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय पहिला दाबेदार हुन् ।

 

त्यसरी नै उनीभन्दा पछिका हरिबहादुर पाल, शैलेश थापा क्षेत्री, प्रद्युम्न कार्की, निरजबहादुर शाही डीआईजीका दाबेदार हुन् ।

 

गृहस्रोतका अनुसार यीमध्येबाट पनि लम्साल, पाल र क्षेत्रीको सम्भावना बढी छ । उपाध्याय आईजीपी ज्ञवालीकै ब्याचका भए पनि पालहरूसँगै डीआईजीमा बढुवा भएका कारण उनको सम्भावना न्यून रहेको छ ।

 

उसो त भर्ना हुँदा सँगै प्रतिस्पर्धा गरे पनि १ वर्षपछि मात्रै नियुक्ति पाएका डीआईजी विश्वराज पोखरेल पनि एआईजीको दौडमा लागेका छन् । तर, जुनियरलाई अहिले नै एआईजीमा बढुवा गर्दा प्रहरीभित्रको चेक अफ कमाण्डमा असर पर्ने भन्दै पोखरेललाई एआईजीमा बढुवा गर्नु हुँदैन भन्ने पक्ष बलियो बनेको छ ।

 

एआईजी बढुवाको प्रतिस्पर्धामा रहेकामध्ये पाल प्रहरीको विशेष ब्यूरोको नेतृत्व गरिरहेका छन् । क्षेत्री प्रहरी प्रधान कार्यालयको नेन्द्रीय प्रवक्ताका रूपमा कार्यरत छन्, भने शाही केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कार्की प्रदेश नम्बर २ प्रहरी कार्यालय प्रमुख रहेका छन् । पोखरेल उपत्यकाको ३ जिल्ला हेर्ने महानगरीय कार्यालय, रानीपोखरीको नेतृत्व गरिरहेका छन् ।

 

प्रहरी नियमावलीमा एआईजी बढुवा गर्दा कार्यसम्पादन गर्न सक्ने क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने खुबीका आधारमा सरकारले उपयुक्त व्यक्तिलाई बढुवा गर्ने व्यवस्था छ ।

 

एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ ।

 

डीआईजी बढुवाको दौडमा को–को ?

 

एआईजी बढुवापछि हुने डीआईजी बढुवाका लागि हरि पालकै ब्याचका एसएसपी गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, देवबहादुर बोहोरा, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, पोखरेलसँगै नियुक्त पाएका धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार लामा, दिवेश लोहनी डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

 

डीआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक सदस्य सचिव र एआईजी सदस्य हुने प्रहरी नियमावलीमा व्यवस्था छ ।