ललिता निवास प्रकरण : ३४ प्रतिवादीलाई १५ दिनभित्र उपस्थित हुन विशेष अदालतद्वारा म्याद जारी

काठमाडौं : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जना प्रतिवादीमध्ये ३४ जनालाई १५ दिनभित्र अदालत उपस्थित हुन विशेष अदालतले म्याद जारी गरेको छ ।

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग दाबी गरिएका २४ जना र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएका १० जनाको नाममा म्याद जारी गरेको विशेष अदालतले जनाएको छ ।

 

विशेष अदालतका उप–रजिस्ट्रार इन्द्रकुमार खड्काका अनुसार भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टिकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी र खरिदार जीवनाथ पोखरेल लगायतका नाममा म्याद जारी भएको छ ।

 

यस्तै, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनी लगायतका प्रतिवादीहरूलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

 

ललिता निवासको १३६ रोपनी सरकारी÷सावर्जनक जग्गा हिनामिना गरेको भन्दै अख्तियारले गत माघ २२ गते १ सय १० जनालाई कैद सजाय र विगो माग तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।