योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई  दुःख नदिन निर्देशन

काठमाडौ  । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

 

बुधवार साँझ नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुर नेतृत्वमा भारत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले चाँडै नै आफुले सिमाक्षेत्रको अनुगमन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवागमन गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

 

दुई देश र नागरिकबीचको सम्बन्धमा विशेष जोड दिँदै आदित्यनाथले नेपालीहरु स्वाभिमानी र सज्जन भएको एवं नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध स्वार्थनिहित नभई परापूर्वकालदेखि नै दिगो रहेको उल्लेख गरे ।

 

साथै, दुवै देश र जनताबीच विश्वासको सम्बन्ध रहेकाले यसमा दरार आउन नदिन दुवै देशका नागरिक सजग हुनुपर्ने आदित्यनाथनाथले बताए । केही शक्तिले नेपाल–भारत खुला सिमाको फाईदा उठाउन खोजेको उल्लेख गर्दै योगीले त्यसतर्फ सजग हुनुपर्ने पनि उल्लेख गरे ।

 

उत्तर प्रदेशको राजधानी लखनउमा भएको सो भेटमा आदित्यनाथले नेपाल–भारत सम्बन्ध धार्मिक दृष्ट्रिकोणले पनि महत्वपूर्ण रहेको र नेपालले धार्मिक पर्यटन विकासमा जोड दिँदा दुवै देशलाई फाईदा पुग्ने बताए । साथै, नेपाल र भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले आफुहरुले नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको बताए ।

 

फाउन्डेशनका अध्यक्ष ठाकुर नेतृत्वको टोलीले आदित्यनाथलाई लखनउस्थित मुख्यमन्त्रीको निवासमा भेट गरेको थियो । आदित्यनाथसँगको भेटघाट सकारात्मक र फलदायी भएको ठाकुरले जानकारी दिए ।