
पोखराको मौसम बिग्रिएपछि यहाँ जारी प्याराग्लाइडिङको विश्वकप प्रतियोगिता रद्द भएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा जारी ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर– २०२०’ अन्तर्गत आइतबारदेखि सञ्चालन भएको छनोट खेल मौसम प्रतिकूलताका कारण बुधबार पनि रद्द भएको हो ।
पोखराको मौसममा खराबी आएपछि ‘टास्क’का लागि सराङकोट पुगेका प्रतियोगीहरू फिर्ता भएको कम्पिटिसन डाइरेक्टर बिमल अधिकारीले बताए । ‘प्रतियोगिताका लागि खेलाडीलाई लिएर सराङकोट पुगेका थियौँ,’ उनले भने । ‘मौसमले साथ नदिएपछि आज पनि हामी फर्किन बाध्य भयौँ ।’
आयोजकले २० देशका ९२ जना प्रतियोगी पाइलटलाई आज प्रतियोगिता नहुने भएपछि पोखराका विभिन्न ठाउँमा भ्रमण गराउने भएको छ । पोखरा– २२ पुम्दीस्थित शान्ति स्तुपा, डेभिस फललगायतका स्थानहरुमा भ्रमण गराइने अधिकारीले बताए ।
नेपालमा पहिलो पटक आयोजना भएको प्याराग्लाइडिङ वर्ल्डकप टुरमा २० देशका ९२ जना प्रतियोगीले भाग लिएको नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले बताए ।
प्रतियोगितामा १३ जना नेपाली प्रतियोगीसहित ८ जना विदेशी महिला खेलाडीहरूले समेत भाग लिएका छन् ।
विश्वकप प्रतियोगितामा फेडेरेसन अफ एरोनोटिक इन्टरनेसनल (एफएआई) बाट मान्यताप्राप्त पाइलटहरूले मात्र भाग लिएका छन् । विश्वका उत्कृष्ट पाइलटहरूले क्रसकन्ट्रीमा १ सातासम्म प्रतिस्पर्धा गर्नुपर्ने नियम छ ।
नेपाल भ्रमण २०२० को अवसरमा आयोजित प्रतियोगितामा छनोट भएका खेलाडीहरू विश्वकपमा पुग्नका लागि एशियाका तीनवटा देशमा हुने विभिन्न चरणका खेल जित्नुपर्ने नियम रहेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।
प्रतियोगितामा अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अस्ट्रियालगायत देशका पाइलटको सहभागिता रहेको अध्यक्ष भण्डारीले बताए ।
प्रतियोगिता यही फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीहरूले सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरण गर्दै आएका छन् ।