
खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

पहिल्यै मृत्यु भइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।



गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरूपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छानबिन समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन १७ मंसिर २०७६ मा गाउँपालिका समक्ष बुझाएको थियो ।

हालसम्म गुपचुप राखिएको सो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दवाव सिर्जना भएपछि गाउँपालिकाले १०औँ गाउँसभामा सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो ।
उपाध्यक्ष मगरले बाचन गरेर सुनाएको प्रतिवेदनमा कुन वडामा, कति बजेट चुहावट भए भन्ने तथ्यांक भने खुलाइएको छैन ।
सामाजिक सुरक्षाभत्तामा भएको अनियमितता छानविनका लागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्बन्धी कागजात बुझाएको थियो ।