
काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नागरिकमा विगतको १० वर्षे सशस्त्र युद्ध फेरि दोहोरिन लागेको हो कि क्या हो भन्ने संशय बढेको छ ।

सरकारले विप्लवका कार्यकर्ता धमाधम पक्राउ गर्नु र विप्लवले स्थानीय तहका जनप्रतिनिधिलाई गाउँबाट खेदाएका समाचार बाहिर आइरहेका बेला आइतबार सिंहदरबारमै पनि ‘विप्लव त्रास’ देखिएको छ ।



आइतबार सिंहदरबार प्रवेश गर्दा कडाइ गरिएको छ । सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रदेशमा प्रहरीले कडाइका साथ चेकजाँच र खानतलासी गरेको छ । यतिसम्मकी सरकारी कर्मचारीको पोसाक लगाएका कर्मचारीहरुलाई समेत प्रहरीले चकेजाँच र झोला खानतलासी गरेको छ । अन्य दिन परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश पाउने कर्मचारीलाई आज आइतबार भने प्रहरीले कडा चेकजाँच मात्र गरेन झोला समेत खानतलासी गरेको छ ।

कर्मचारीहरुले समेत कडाइ गरिरहेको अवस्थामा सर्वसाधरणलाई त थप कडाई हुनु स्वभाविक नै हो । सुरक्षाकर्मीले चेकजाँच कडाइ गरेपछि सिंहदरबार परिसरमा मानिसको लामो लाइन लाग्न पुगेको छ । प्रहरी स्रोतका अनुसार नेत्रविक्रम चन्द नेतृवको नेकपाका नेताहरु प्रक्राउ परिरहेको अवस्थामा सुरक्षा चुनौती बढेको भन्दै चेकिङमा कडाइ गरिएको हो ।