त्रिभुवन विमानस्थलमा कुनै पनि देशका जहाजले यात्रु लिएर आउन नपाउने

काठमाण्डौ – यात्रु बोकेर नेपाल आउने जहाजलाई सोमबारदेखि प्रतिबन्ध लगाइएको छ ।

 

बिज्ञापन

गएराति १२ बजेदेखि कुनै पनि देशका जहाज यात्रु बोकेर नेपाल आउन नपाउने नियम लागु भएको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ गतेदेखि १८ गतेसम्मको लागि स्थगित गरिएको घोषणा गरेअनुसार आजदेखि कुनै पनि देशका जहाजले नेपालमा यात्रु लिएर आउन पाउने छैनन् ।

 

तर खाली जहाज नेपाल आएर यहाँबाट यात्रु लिएर भने जान सक्नेछन् । प्रतिबन्ध लागेकै दिन अर्थात सोमबार पनि कतार एअरवेजका २ वटा, कोरियन र इत्तिहाद एअरका एक एक वटा उडानको तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

 

कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्च अर्थात गएको शुक्रबारदेखि नै भारत, चीन, हङकङ, थाइल्याण्ड र सिँगापुरबाट आउनेबाहेक सबै देशका हवाई आवागमनमा रोक लगाएको थियो ।

 

तर गएरातिदेखि भने कुनै पनि देशका जहाज यात्रु लिएर नेपाल आउन पाउने छैनन् ।

 

तर सरकारले नेपाल आउन नपाउने नियम लगाए पनि जुन देशबाट यात्रुवहीन अर्थात खाली जहाज नेपाल आउन पाउनेछन् र यहाँबाट यात्रु लगेर जान पाउनेछन् ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्नुहुन्छ, ‘जुनसुकै देशबाट पनि खाली जहाज नेपाल आउन पाउनेछन् र यहाँबाट यात्रु लिएर जान सक्नेछन्, तर एकजना पनि यात्रु ल्याउन पाउँदैनन् ।’

 

यस्तै सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि कार्गो लिएर आउने जहाज, स्वास्थ्य सामग्री र चिकित्सकसहित अत्यावश्यक सामग्री बोकेका जहाज भने नेपाल प्रवेश गर्न पाउने पनि महानिर्देशक पोख्रेलले जानकारी दिनुभयो ।