२०७६ को १० दिनभित्रै राष्ट्रका चार हस्तीहरु अस्ताए


काठमाडौ – गत वर्ष अर्थात् विक्रमको २०७५ सालमा नेपालको राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिएका धेरै स्वनामधन्य व्यक्तिहरूको देहावसान भयो । एकै साल आफ्ना आफ्ना क्षेत्रमा ख्यातनामा त्यति धेरै हस्तीहरूको निधन हुनु नेपाली समाजका लागि ठूलो क्षतिको विषय थियो ।नेपाली समाजका लागि २०७६ सालको प्रारम्भ पनि अत्यन्त दुखद रह्यो ।

बिज्ञापन

 

वर्षको शुरूमै कामना प्रकाशन गृहका सञ्चालक र नेपाल समाचारपत्र दैनिकका सम्पादक पुष्करलाल श्रेष्ठको देहावसान भयो भने त्यसको लगत्तै विख्यात साहित्यकार र भाषाशास्त्री वसन्तकुमार शर्म्मा नेपालले पनि देहत्याग गर्नु भयो । वयोवृद्ध साहित्यसेवी नेपालले महाप्रस्थान गरेको दुई दिनपछि नै वरिष्ठ संगीतकार मदन दीपबिमको निधन भयो ।

 

वैशाख, २०७६ को १० दिनभित्र स्वर्गे हुने अर्का हस्ती हुन् नेपाली कांग्रेसका नेता र पूर्वमन्त्री रामकृष्ण ताम्राकार । नेपाली कांग्रेस अप्ठ्यारो परिस्थितिमा रहेका बेलामा त्यसको अस्तित्वको जगेर्ना गर्ने अभियानमा भैरहवामा राम्रो हैसियतमा जमेका ताम्राकारले निक्कै नै महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए । पार्टी सत्तामा पुगेका बेलामा भने उनको भूमिका पार्टीको दीर्घकालीन हितका दृष्टिले त्यति सकारात्मक हुन सकेन ।

 

लुम्बिनी अञ्चलको एक प्रमुख नेताका रूपमा उनको सोच र कार्यशैली प्रजातान्त्रिक आदर्शका लागि दुख कष्ट सहेका खाँट्टी कार्यकर्ताहरूको नजरमा सदैव आलोचनाको विषय रह्यो । उनी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गोलबद्ध भएको कांग्रेसभित्रको घोर सत्तामुखी चिन्तनको एक प्रतिनिधि पात्र बन्न पुगेका थिए ।ताम्राकार लेखक र पत्रकारका रूपमा मेरो कदर नै गर्दथे । पत्रकारका रूपमा म उनका नेता, कांग्रेसका तत्कालीन सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कतिपय नीति र कामलाई लिएर कहिलेकाहीँ आक्रामक पनि हुन्थेँ । ताम्राकार यो मान्छे आफ्नो पक्षको होइन भनेर मलाई टाढै राख्न चाहन्थे । उनको त्यस्तो ब्यबहारप्रति मेरो गुनासो भने थिएन।