प्रदेश–१ मा ८ सय २६ जनाको आरडीटी

प्रदेश–१ मा बिहीबारसम्म ८ सय २६ जनाको द्रुत परीक्षण विधि (आरडीटी) गरिएको छ । जसबमा १ जनाको रिपोर्ट पोजेटिभ देखिँदा बाँकी ८ सय २५ जनाको भने नतिजा नेगेटिभ आएको छ ।

 

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका १ जना पुरुषको रिपोर्ट कोशी अस्पताल विराटनगरमा पीसीआरबाट परीक्षण गर्दा बिहीबार नै नेगेटिभ नतिजा आएको थियो ।

 

ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म ३ सय ४१ जनाको नमुना परीक्षण भएको थियो । जसमध्ये ६५ महिला र २ सय ७६ पुरुष छन् ।

 

परीक्षण नतिजामा ४९ महिला र २ सय ४३ पुरुषको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पीसीआर विधिबाट नमुना परीक्षण गरिएका मध्ये ५८ जनाको रिपोर्ट आउन बाँकी छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार हालसम्म दुबै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ छ ।

 

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।

 

प्रदेश–१ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमुना परीक्षणलाई तिव्रता दिएको जनाएको छ ।

 

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म ५ सय ६८ जना पुगेको छ । जसमध्ये ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । अहिले क्वारेन्टाइनमा ६८ महिला र ५ सय पुरुष बसिरहेका छन् ।

 

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका १ महिला र १ पुरुष डिस्चार्ज भएका छन् । अहिले आइसोलेसनमा ८ जना बसिरहेका छन् ।