
काठमाडौँ : कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देशबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित भएको छ। शनिबार अध्यागमन विभागले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।

अध्यागमन विभागले दिएको जानकारी अनुसार विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएकोे हो।
बिज्ञापन



सो निर्णय स्थगित गरिए पनि स्थगन गर्नुको कारण भने खुलाइएको छैन। अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छैन भनिएको छ।

यसअघि शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो।