जुम्लामा एमाले शून्य : एउटै पालिका जितेन

जुम्लामा एमालेले कुनै पनि पालिकामा अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुख जितेको छैन।निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेकपा एमालेले जुम्लाका ८ वटा पालिकामध्ये एउटा पालिकामा अध्यक्षमा दोस्रो स्थानमा आएको छ भने अरू सबै पालिकामा तेस्रो स्थानमा छन्।

जुम्लाको एक पालिकामा स्वतन्त्र उम्मेदवार प्रमुख जितेका छन् भने अरू पालिकामा कांग्रेस र माओवादीले प्रमुख पद जितेका छन्।कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ। यहाँ एमाले तेस्रो स्थानमा छन्।गुठीचौर गाउँपालिकामा पनि नेकपा एमाले तेस्रो स्थानमा छ। गुठीचौरमा कांग्रेसले नै अध्यक्ष र उपाध्यक्ष जितेको छ।चन्दननाथ नगरपालिकामा मेयरमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका उम्मेदवार राजुसिंह कठायतले जितेका छन्।

बिज्ञापन

उपमेयरमा कांग्रेसकी रमादेवी खड्काले जितेकी छन्। यहाँ एमालेबाट मेयरका उम्मेदवार तेस्रोमा छन् भने उपमेयरका उम्मेदवार चौथो स्थानमा छन्।तातोपानी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीबाट उपाध्यक्ष निर्वाचित भएका छन्। यो पालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार तेस्रो स्थानको मत ल्याएका छन्।तिला गाउँपालिका, सिंजा गाउँपालिका, पातारासी गाउँपालिका र हिमा गाउँपालिकामा पनि एमालेका उम्मेदवार तेस्रो स्थानमा छन्।

यीमध्ये तिला गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमा माओवादी केन्द्र, पातारासी र सिंजा गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र माओवादीबाट उपाध्यक्ष, हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ।२०७४ को स्थानीय तहमा नेकपा एमालेले जुम्लाको एउटा पालिकामा अध्यक्षम जितेको थियो।तिला गाउँपालिकामा एमालेका रतननाथ योगी निर्वाचित भएका थिए भने उपाध्यक्षमा माओवादी केन्द्रकी विष्णुमाया बुढा निर्वाचित भएकी थिइन्।२०७४ मा जुम्लाका ४ वटा पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी केन्द्रले नेतृत्व लिएको थियो।