कोरोना उपचार केन्द्रहरु बढाउने प्रदेश १ को तयारी

मोरङ – प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या बढेसँगै उपचार केन्द्रहरु बढाउने तयारी भएको छ ।

 

बिज्ञापन

प्रदेश सरकारले विराटनगरमा ५० शय्या क्षमताको कोरोना उपचार केन्द्र सञ्चालन गरेको छ । अहिले त्यहाँ २८ जना उपचार गराइरहेका छन् । अहिलेको अनुपातमा बिरामी संख्या बढ्दै गएमा ५-६ दिनपछि उपचार केन्द्रमा शय्या अभाव हुने भएपछि प्रदेश सरकारले सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय शय्याको उपचार केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

 

बीपीमा अरु उपचार रोकेर कोरोना उपचारको लागि तयारी गर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले विपीसँगै मोरङ सुन्दरहरैचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको टिचिङ अस्पतालमा १ सय ५० शय्या क्षमताको कोरोना उपचार केन्द्र बनाउने तयारी छलफल अघि बढेको मन्त्री घिमिरेले बताउनुभयो ।

 

उदयपुरको जिल्ला अस्पताल र वेलसोतमा पनि कोरोना उपचार केन्द्र बनाउने तयारी गरिएको उहाँले बताउनुभयो ।