बाबुराम र उपेन्द्रको मन मिल्यो, पार्टी एकता अन्तिम चरणमा

काठमाडौं: उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल सङ्घीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता हुने भएको छ।

तीन महिनायता जारी वार्ता प्रक्रियाले केही दिनमै मूर्तरूप पाएर दुई दल एक हुने भएका हुन्। वैशाख २० र २१ गते बस्ने दुई दलको केन्द्रीय समिति बैठकले एकतामा जाने निर्णय गर्ने भएका छन्। सम्भवत वैशाख २३ गते यी दुई दलबीच एकताको घोषणा हुने श्रोतले जनाएको छ।

उपप्रधानमन्त्री समेत रहेका यादव नेतृत्वको फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता प्रक्रिया अघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले बताए।

यादवका अनुसार पार्टी एकता प्रक्रिया अघि बढेकाले केही दिनमै निचोड निस्कने छ। ‘शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ’, फोरमका एक नेताले भने, ‘तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन।’

निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भएको थियो। तर नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन। अहिले एकता प्रक्रिया निकै अगाडि बढेको छ।

स्रोतका अनुसार नयाँ पार्टीमा दुई अध्यक्ष राख्ने सहमति नजिक नेताहरू पुगेका छन्। दुई अध्यक्षमा कुरा नमिले एकजनालाई वरिष्ठ नेता बनाउने तयारी छ। फोरम श्रोतले डा. भट्टराई वरिष्ठ नेता हुने दाबी गरेको छ।