अर्गानिक भनेर खाइने उत्पादन साँच्चिकै अर्गानिक होलान् त ? – बाबुराम दाहाल

झापा : बिषादी मुक्त खेती प्रबिधिको बिकास गर्दै पुर्ण अर्गानिक साग सब्जी उत्पादन आजको आवस्यकता हो । कृषि उत्पादन राम्रो बनाउने बहानामा  प्रयोग गरिने किटनासक औषधिको जथाभावी हुने प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने सबैलाई थाहा छ । राज्यले अर्गानिक उत्पादनलाई महत्त्व दिएता पनि कृषकहरुमा अर्गानिक उत्पादन गर्ने प्राविधिक ज्ञान  खासै जानकारी भएको पाइदैन यद्यपि हिजोआज अर्गानिक उत्पादनको माग भने ह्वात्तै बढेर गएको छ । गौरादह ५ स्कुलचौन निवासी सफल कृषक बाबुराम दाहाल अर्गानिक उत्पादनको अभियन्ता नै हुनुहुन्छ । दर्जनौ संघ संस्थामा आवद्ध दाहाल महारानी झोडा साना किसान सहकारी संस्था अन्तर्गत अर्गानिक खेती समुहको अध्यक्ष हुनुहुन्छ । लकडाउनको समयमा आफ्नो उत्पादन गाउँ घर सम्म पुर्याएर बिक्रीवितरण गर्दै आएको वहाँहरुले कृषकलाई  अर्गानिक प्रबिधिको बारेमा तालीमहरु समेत प्रदान गर्दै आएको छ ।

 

प्रस्तुत छ अर्गानिक सब्जी खेती प्रबिधि बारेमा ओमकार टाइम्सका सम्पादक सान नेपाल संग कृषक दाहालले  गरेको उपयोगी  कुराकानी:

 

अर्गानिक खेती के हो ?

 

अर्गानिक खेती भन्नाले नितान्त प्राकृतिक तरिकाले फसल उत्पादन गर्नु भन्ने बुझिन्छ । यस प्रकारको खेती प्रबिधिमा रासायनिक पदार्थको प्रयोग पुर्ण रूपमा निषेध गरिएको हुन्छ ।

 

रासायनिक मल नहाली उत्पादन हुन्छ भन्ने कुरा कसरी विश्वास गर्ने ?

 

अवस्य सम्भव छ । हामीले घरमै भएको प्रांगारिक पदार्थलाई कुहाएर राम्रो जैविक मल बनाउन सकिन्छ । यसको लागि डिकम्पोजर, जिवातु आदिको प्रयोग गर्न सकिन्छ ।

 

डिकम्पोजर के हो?

 

कुनै पनि मल खादलाई बोट बिरुवाले आफैं लिदैन । कम्पोस्टमलमा सूक्ष्म जिवहरुको प्रवेश भएमा मात्र  बिरुवाले आफुलाइ चाहिने खाना बनाउन सक्छ । यसलाई प्रभावकारी सुक्ष्म जीवाणु पनि भनिन्छ ।  मलमा जैविक व्याक्टेरियाको प्रवेश गराएर पोषण तत्व तैयार पार्नु लाई डिकम्पोस्ट गर्नु भन्ने बुझ्नुपर्छ । डिकम्पोस्टर नेपाली बजारमा खासै पाइदैन । भारतिय बजारमा मात्र यदा कदा पाउन सकिने यो तत्व काठमाडौमा भने कतै कतै पाउने गरेको सुनिन्छ । हामीले आफुलाइ चाहिने मात्रा डिकम्पोजर भनें सुरक्षीत राखेका छौँ ।

 

अर्गानिक बाली लगाउनको लागि पहिलो चरणमा के गर्नु पर्छ ?

 

पहिलो चरणमा माटोको पि एच को मात्रा कति छ भनेर जाच्नु अनिवार्य हुन्छ । नजिकैको  कृषि शाखामा  आफ्नो माटो परिक्षण गराउन सकिन्छ ।

 

परिक्षण पस्चात सिफारिस गरिएको मात्राको आधारमा कृषि चुन प्रयोग गर्ने हो । कृषि चुन पर्योग गर्न थालेपछि रासायनिक मल पुर्ण रूपमा रोक्नुपर्छ । कृषि चुन पनि २ प्रकारको हुन्छ । प्राबिधिक संग परामर्श गरेर यसको प्रयोग गर्ने हो । रासायनिक मल हालेर उर्वरा शक्ति नस्ट भएको हाम्रो जस्तो जमीनलाई पुर्ण रूपमा सुधार गर्न ४/५ वर्ष लाग्न सक्छ

 

किटनासक औषधिको प्रयोग नगरी किरा नियन्त्रण हुन्छ त ?

 

किरा नियन्त्रण गर्नु भन्ने कुरा नै हाम्रो सबैभन्दा ठूलो भुल हो । हामीले देखेजती सबै किराले बाली नाली नस्ट गर्दैन । किराहरु २ प्रकारका हुन्छन् । सत्रु जीव र मित्रु जिव । सत्रु जिवलाइ मार्ने होइन भगाउन सम्म प्रयास गर्ने हो । कुल उत्पादनको ३०% फसल किराको लागि छुट्याउनै पर्छ । बाकी ७०% उत्पादन मात्र हाम्रो हो भन्ने बुझ्नुपर्छ । किरा नियन्त्रणको लागि हामीले धेरै रमाइला उपाय अपनाउन सक्छौं । पहिलो कुरा त मिश्रित वाली लगाउनु पर्यो । यसो भएमा एउटा फसलले अर्को फसलको उत्पादन बढाउछ र प्राकृतिक रूपमा किरा आफै सन्तुलनमा बस्न सक्छ । किराले परागशेचन गराउन मद्दत गर्छ जसले गर्दा उत्पादन पनि राम्रो हुन्छ ।

 

माहुरी पालन व्यवसाय संगै गर्दा पनि ठूलो फाइदा हुन्छ । एकातिर मह उत्पादन  र अर्को तिर बालीनालीको सही हेरचाह गर्ने क्षमता माहुरीमा हुन्छ । रातो रंगलाई सत्रु किराहरुले खतराको संकेतको रूपमा लिन्छन् । त्यसैले  रातो फुल्ने फुल, रातो जातको लट्टे, रातो डाँठ भएका बनस्पतिहरु प्रसस्तै लगाउनाले धेरै राम्रो हुन्छ । यदि कसैले घरमा खानको लागि दुई चार बोट मात्र लगाउनु भएको छ भने रातो कपडा छेउमा टागिदिनु होस् , किरा आफैं भाग्छ । यसका अतिरिक्त तितेपाती, गोदाबारी, घोडताप्रे, सन्चो, निमपत्ती, बोजो, सयपत्री फूल जस्ता बनस्पति रोप्नु पर्छ जसले गर्दा प्राकृतिक सौन्दर्य समेत झल्काउने, वातावरण स्वच्छ हुने र प्राकृतिक बनस्पतिमा चेक एन ब्यालेन्स मिल्न जाने हुन्छ ।

 

त्यसो हो भने अर्गानिक उत्पादनको लागि अर्गानिक बिषादी पनि नचाहिने हो त ?

 

प्राकृतिक बनस्पतिमा सन्तुलन राख्नुपर्छ भन्ने कुराको अतिरिक्त जैविक विषादी पनि घरमै तैयार गर्न सकिन्छ । जसको लागि हामीलाई एउटा प्लास्टिकको ड्रम चाहिन्छ । त्यसमा निमपत्ती, बोझो, तितेपाती जस्ता बनस्पतिहरु हालेर आवश्यकता अनुसार पानी र २/३ लिटर जति बोतल गो मुत्र पनि मिसाइदिने । ४/५ दिन पस्चात कपडछान गरेर  बोट बिरुवामा स्प्रे गरिदिने । ४/५ दिन बिराएर स्प्रे  गर्नाले यसले भिटामिनको काम गर्छ भने सत्रु भनिने जिवहरु टाढा भाग्छ्न् ।

 

एकै पटक के कस्ता बालिहरु संगै उत्पादन गर्न सकिन्छ ?

 

अन्तरबालीको लागि त विषेश तालिम नै लिनुपर्ने हुन्छ । साग सब्जीको बिषयमा भन्ने हो भने प्राय सबै जसो साग सब्जीहरु एकै साथ लगाउन सकिन्छ । उदाहरणको लागि माथी झ्यांगिने लहरे बालीको मुनि रायो, तोरी, लट्टे, पालुंगो लगाउन सकिन्छ भनें भिन्डी, बैगुन, आदि लगाउन सकिन्छ ।

 

टेरेस फार्मिङ (छतमा गरिने खेती)  को बारेमा बताइदिनुस् न ?

 

टेरेस फार्मिङ अत्यन्तै सफलता पुर्वक गर्न सकिन्छ । यसको लागि प्राबिधिक ज्ञानको आवश्यकता पर्दछ । यसको लागि कसैलाई आवश्यकता परेमा हाम्रो तर्फ बाट प्राबिधिक सहयोग उपलब्ध गराउन सकिन्छ ।

 

तपाईंहरुले गर्नु भएको  अर्गानिक  सब्जी उत्पादन को बारेमा भनिदिनुस् न ?

 

हामीले मौसम अनुसारका र बेमौसमी दुबै उत्पादनलाई जोड दिएका छौं । हाम्रो अर्गानिक उत्पादनमा गौरादह नं. पा. भित्रका १०२ जना कृषक आवद्ध छौँ । एक आपसमा मिलेर प्राबिधिक सहयोग आदानप्रदान हुन्छ । अहिलेसम्म उत्पादन भएको फसल दमक र गौरादहकै बजारमा खपत हुँदै आएको छ । लक डाउन हुनुभन्दा अगाडि नै हामीले गौरादहमा अर्गानिक सब्जीको पसल राख्ने तैयारी गरेका थियौं । लक डाउन खुल्ने बित्तिकै पसल उद्घाटन गर्ने योजनामा छौं ।

 

अर्गानिक उत्पादनको बजार कस्तो देख्नु हुन्छ ?

 

अर्गानिक उत्पादनको बजार राम्रो छ । तर पनि रासायनिक पदार्थ प्रयोग गरेर उत्पादन गरिएको फसल संग हामीले प्रतिस्पर्धा गर्नु परेको छ । उपभोक्ताले अर्गानिक साग सब्जीको महत्त्व नबुझे सम्म समस्या नै छ । कुरा विश्वसनीयताको पनि हो । तुलनात्मक रूपमा रासायनिक खाद प्रयोग गरिएको साग सब्जी भन्दा हाम्रो उत्पादन महंगो नै छ । प्रतिस्पर्धामा आउन र उपभोक्ताको मन जित्न पनि मुल्री बढी राख्नु परेको छ । सबैले बुझ्ने हो भने अर्गानिक उत्पादन अन्य उत्पादन भन्दा महंगो भने पर्दैन । हाम्रो उत्पादनलाई मन पराएर सदैब खरिद गरिदिनु हुने गौरादह र दमक लगायतका उपभोक्ताहरु करिब ५ हजारको हाराहारीमा हुनुहुन्छ ।

 

लक डाउनमा बिक्रीवितरण कसरी गर्दै हुनुहुन्छ ?

 

प्राय गाउँ घर बाटै पनि बिक्दै आएको छ । ३० किलो भन्दा माथिको अर्डर आएमा दमक सम्म डेलिभरी सुबिधा पनि दिएका छौँ ।

 

सरकारले किसानलाई कस्तो सहयोग गरे हुन्थ्यो भन्ने लाग्छ?

 

हामीले अर्गानिक उत्पादन गर्न थालेको निकै वर्ष भइ सक्यो तर अहिलेसम्म हामीले तालीम बाहेक कुनै अतिरिक्त सुबिधा पाएका छैनौं । हामी आबद्ध सहकारीले पनि ऋण सुबिधा मात्र दिने हो । साच्चिकै व्यवसायीक रूपमा नै गर्ने हो भने भौतिक संरचना निर्माण गर्न मात्र पनि ठूलो खर्च लाग्छ । हामी संग त्यो सामर्थ्य छैन । राज्यले अहिलेसम्म  हामीलाई कुनै आर्थिक सहयोग गरेको छैन । यदि राज्यले हामीलाई सहयोग गर्छ भने झापा जिल्लालाई पुर्ण अर्गानिक बनाउन केहि वर्षमा नै सम्भव हुन्छ ।

 

नगर वडा कार्यालय संग कुरा गर्नु भएको छैन?

 

वहाँहरु संग कुरा हुन्छ । अहिलेसम्म अर्गानिक उत्पादनको लागि कुनै योजना नै छैन नगर संग । बजेट को कुरा त परै जावोस कृषि शाखाले सामान्य प्राबिधिक सहयोग बाहेक कुनै अतिरिक्त सहयोग गर्न सक्ने अवस्थामा देखिदैन ।

 

अन्त्यमा के भन्न चानुहुन्छ?

 

तपाईंहरुको लोकप्रिय समाचार संस्था ओमकार टाइम्सले कृषक लाई प्रोत्साहन हुने गरि खोजमुलक समाचारहरु धेरै नै लेख्नु भएको छ । यश लोकप्रिय मिडिया हाउस मार्फत म सम्पूर्ण कृषक दाजु भाइ दिदिबहिनी, आम  उपभोक्ता हरुलाई मेरो बिनम्र अनुरोध के भने अर्गानिक उत्पादनको बारेमा गम्भीर हुनुहोस् । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने बिषालु रासायनिक औषधि हालिएको साग सब्जी नखानुहोस् । यदि तपाईं पनि अर्गानिक खेती गर्न चाहनुहुन्छ भने हामी प्राबिधिक ज्ञान बाढ्न तैयार छौँ ।
आउनुहोस् हातेमालो गरेर अगाडि बढौं, मुलुकलाई बिषादी मुक्त बनाउने अभियानमा जुटौं ।