
कोरोना परीक्षणको ‘पोजेटिभ रिपोर्ट’ नदेखाई संघीय संसदका कुनै पनि सदस्य संसद बैठकभित्र प्रवेश गर्न नपाउने भएका छन् ।




सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार बिहीबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ । संघीय संसदका दुवै सदनका सांसदहरुको परीक्षण भइरहेको छ ।
काठमाडौं बाहिर रहेका सांसदहरुलाई शुक्रबार विहानैदेखि परीक्षण गरिनेछ । रिपोर्ट नआई संसद बैठकमा भाग लिन नपाउने भएकाले राजधानी बाहिर रहेका धेरै सांसद शुक्रबारको बैठकमा भाग लिनबाट वञ्चित हुने भएका छन् ।
चौधरीले भनिन् ‘यसबीचमा हामी सांसदहरु धेरै जनताको बीचमा राहत र मेडिकल सामाग्री लिएर गाउँ गाउँ पुगेका छौं । सांसदको कोरोना परीक्षणले ती क्षेत्रका जनतालाई समेत ढुक्क हुनेछ । रिपोर्ट नदेखाई बैठकमा भाग लिन नदिने कुरा त्यसकारण आएको हो । सांसदमै संक्रमण भेटियो भने त सबैलाई असर गर्छ ।’
सचिवालयले राजधानी बाहिर रहेका सांसदहरुलाई पनि स्वाब संकलनका लागि बोलाइसकेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ ।
संसद बैठकको ग्यापमा सांसदहरु निर्वाचन क्षेत्र जाने प्रचलन रहेकाले संक्रमणको जोखिम रोक्न यस्तो निर्णय भएको हो । अब संसद अधिवेशनभर कुनै पनि सांसद निर्वाचन क्षेत्रमा जान पाउने छैनन् ।