यातायात कार्यालयका लेखापालको कर्तुत, ४ श्रीमति र ५ करोड १० लाख अकुत सम्पत्ति

इटहरीको यातायात व्यवस्था कार्यालयका लेखापाल सुरेश अधिकारीले सरकारी सेवामा रहँदा पाँच करोड १० लाख अकुत सम्पत्ती कमाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ।

आर्थिक भ्रष्टाचारमात्र हैन उनले कानुन विपरित चार चारवटा विहे गरेको पनि अख्तियारको अनुसन्धानबाट फेला परेको छ।

बिज्ञापन

आफूले कमाएको अवैध सम्पत्ती आफ्ना चारवटा श्रीमती लगायतका आफन्तको नाममा राखेको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा उनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार २०५९ साल देखि २०७४ साल सम्म उनी सरकारी सेवामा कार्यरत थिए। त्यो बेलासम्म अख्तियारले गरेको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपरको बिश्लेषणबाट उनले ८८ लाख ३४ हजार आठ सय पचासी रूपैयाँ कमाएका छन्।

यो कमाइ उनले तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ जग्गा विक्री¸ नगद अंश भर्पाइ¸ कर्जा लगायतबाट वैधानिक तरिकाले आर्जन गरेको देखिन्छ।

‘उनीसँग रहेको स्रोत खुल्न नसकेको पाँच करोड १० लाख ३३ हाजर छ सय २३ रुपैयाँ निजले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको  छ,’ अख्तियारले भनेको छ।

अधिकारीसँग उनले कमाएको अवैध सम्पत्ति जफत गर्न र त्यति नै जरिवाना माग्नुपर्ने अख्तियारको दाबी छ।

सुरेश अधिकारीले आफू र आफ्ना श्रीमतीहरु दुर्गा अधिकारी¸ दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी¸ सोममायाँ श्रेष्ठको नाममा राखेको सम्पत्ति जफत गर्नुपर्ने अख्तियारको अभियोगपत्रमा भनिएको छ। त्यस्तै उनले  सासू पुष्प कुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतका नाममा सम्पत्ती राखेकाले त्यो पनि जफत गर्नुपर्ने अख्तियाको दाबी छ।