
झापा : प्रधानमन्त्री केपी शर्मा ओलिको गृह क्षेत्र झापाको गौरादह नगरपालिकामा लक डाउन प्रभावले रोकिएका मुख्य आयोजनाहरु पुनः सञ्चालन हुन थालेका छन् । सरकारले निर्माण संग सम्बन्धित सबै आयोजनाहरु सञ्चालन गर्नको लागि लक डाउन खुकुलो पारेकोले स्थगित रहेका निर्माण कार्य धमाधम सुरु गर्न लागिएको हो ।





आर्थिक वर्ष सकिनै लाग्दा निर्माण अलपत्र परेका बिकास आयोजनाहरु धमाधम सञ्चालन गरिएको नगर प्रमुख रोहित कुमार साहले ओमकार टाइम्सलाई बताए । गौरादह १ स्थित नव दुर्गा पेट्रोल पम्प देखि बजार सम्मको सडक ढल सहित पिच गर्ने काम तिब्र रूपमा अगाडी बढाइएको मेयर साहले बताए । सघन सहरी बिकास तथा भवन निर्माण आयोजना भद्रपुरको सहयोगमा करिब २ करोड ७० लाखमा निर्माण हुने उक्त सडकको निर्माण अनुमति सिंह एन्ड ब्रदर कन्स्ट्रक्सनले प्राप्त गरेको जनाइएको छ ।
यसै गरि डिपु चोक बाट पश्चिम गौरादह १, ३ र ४ को बिचमा पर्ने गेउरिया खोला कल्भर्ट निर्माणले समेत प्राथमिकता पाएको छ । गत आर्थिक वर्ष संघीय सांसद बिकास कोष बाट प्राप्त नगद ५० लाख बाट उपभोक्ता समिति गठन गरि निर्माण सुरु गरिएको थियो । बाकी रहेको निर्माण कार्य सम्पन्न गर्न ४९ लाख ३५ हजार ७ सय २६ खर्च हुने र इनरुवा सुनसरीको बोहरा एन्ड बोहरा कन्स्ट्रक्सन कम्पनी संग निर्माण सम्झौता गरिएको योजना शाखाले जनाएको छ ।