
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र उनकी पत्नी सीता दाहालले फेरि विवाह गरेका छन्। उनीहरूबीच विवाह भएको ५० वर्ष पुगेको अवसरमा बिहीबार राजधानीको एक पार्टी प्यालेसमा प्रचण्ड र सीता फेरि दुलहादुलही बनेका हुन्।
साँझ दाहाल पञ्चेबाजासहित सुनाकोठीको पार्टी प्यालेस गएका थिए। प्रचण्ड र सीताले दुबोको माला पनि पहिरिएका थिए। पछि उनीहरूले एकअर्कालाई विवाहको माला पहिराइदिएका थिए। दाहाल दम्पत्तिले केक काटेर एकअर्कालाई खुवाएका थिए। सो क्रममा मालश्री धुन पनि बजाइएको थियो। मञ्चमा दाहाल दम्पत्तिको तस्बिर पनि राखिएको थियो।
दाहाल दम्पत्तिको सहयात्राको ५० वर्ष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सरकारका मन्त्रीहरू सहभागी थिए। सहभागीहरूले दाहाल दम्पत्ति पुष्पगुच्छासहित बधाई दिएका थिए।
छोरीहरू रेणु र गंगाले आमाबुवाको विवाहोत्सव कार्यक्रम आयोजना गरेका हुन्।
कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए। त्यतिबेला सीता पनि १५ वर्षकी नै थिइन्।
दाहाल र पौडेलका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झरे। चितवनमा पनि उनीहरूको घर नजिकै थियो।
विवाह भएको ५० वर्ष पुगेको अवसरमा छोरीहरू रेणु र गंगाले खुमलटारस्थित एक पार्टी प्यालेसमा पुन:विवाह गराउने कार्यक्रम आयोजना गरेका हुन्।
दाहाल जोडीका चार सन्तानमध्ये रेणु भरतपुर महानगरकी मेयर छन्। अर्की छोरी गंगा निजी सचिवालयको जिम्मेवारी हेर्छिन्। जेठी छोरी ज्ञानु र छोरा प्रकाशको भने निधन भइसकेको छ।
दाहालले झण्डै १३ वर्ष भूमिगत जीवन बिताउँदा श्रीमतीलाई पनि सँगै लगेका थिए। दश वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गरेका दाहाल २०६२-०६३ को जनआन्दोलनपछि सुरू भएको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनपछि बनेको सरकारमा दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसको झन्डै नौ वर्षपछि दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेका थिए।
एमाओवादीलाई नेकपा एमालेसँग एकीकरण गरेपछि बनेको नेकपामा दाहाल अध्यक्ष छन्। पत्नी सीता बिरामी भएपछि उनलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो।