
जनकपुर — प्रदेश २ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन् । थप संक्रमितमध्ये नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय महोत्तरीमा कार्यरत ५२ वर्षीय एक उच्च अधिकारी, सेनाकै चिकित्सा क्षेत्रका २६ वर्षीय लेफ्टिनेन्ट र बारामा कार्यरत एक प्रहरी जवान छन् ।
सेनाको स्वास्थ्य टोलीले बिहीबार साँझ मध्यपूर्वी पृतनामा कार्यरतको स्वाब संकलन गरेको थियो । सेनाकै टोलीले स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल लगेको थियो । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रदेश २ को मध्यपूर्वी पृतनामा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए पनि उनीहरूको दर्जा भने खुलाएका छैनन् ।
‘सेनाको स्वाब रिपोर्टबारे हामीले पनि चासो राखेका थियौं,’ प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका एक अधिकारीले कान्तिपुरसँग भने । दुवै संक्रमितलाई उपचारका लागि सशस्त्र प्रहरीको काठमाडौंस्थित कोरोना अस्पतालमा शनिबार राति गाडीमै ल्याइएको छ ।
सेनाका ती अधिकारी वैशाख २७ गते बाराको जितपुरमा निर्माणाधीन एकीकरण स्मृति उद्यानको शिलान्यास कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । उद्यानको शिलान्यास प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए । शिलान्यास कार्यक्रममा सहभागी वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि मध्यपूर्वी पृतनाका ती अधिकारीले पनि स्वाब परीक्षण गराएका थिए ।
शिलान्यासमा सहभागी मुख्यमन्त्री राउत र मन्त्री जितेन्द्र सोनलले काठमाडौंमा स्वाब परीक्षण गराएका थिए । उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पृतना कार्यालयलाई सिल गरिएको बताए । ‘सेनाको अड्डामा आफैं कडाइ हुन्छ । तर पनि संक्रमित भेटिएपछि पृतना कार्यालयलाई सिल गरिएको छ,’ महोत्तरीका सीडीओ खत्रीले कान्तिपुरसँग भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ ।’
यस्तै, बाराको प्रहरी कार्यालय कलैयामा कार्यरत २९ वर्षीय प्रहरी जवानमा पनि शनिबार कोरोना पुष्टि भएको छ । प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार उनीमा कुनै लक्षण देखिएको थिएन । उनीसहित अन्य ३ जना सुरक्षाकर्मी र सात जना थुनुवालाई पाँच दिनअघि वीरगन्ज नारायणी अस्पतालमा स्वाब परीक्षणका लागि पठाइएको थियो । संक्रमितको सम्पर्कका ३५ जनालाई जिल्ला प्रहरी कार्यालयकै छेउमा रहेको बाल मन्दिरलाई क्वारेन्टाइन बनाएर राखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । संक्रमितलाई भने कलैया अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।