झापामा पनि अब कोरोना अस्पताल, भद्रपुरमा बन्ने निश्चित

झापा — झापाको भद्रपुरमा रहेको मेची अस्पतालको निर्माणधिन भवनमा अस्थायी कोरोना उपचार अस्पताल बनाउने निर्णयप्रति जनस्तरबाट उठेको विवाद साम्य भएको छ ।

 

बिज्ञापन

भद्रपुरमा गठित कोरोना अस्पताल नागरिक सरोकार समाजले मेची अस्पतालको निर्माणाधीन भवनमै कोरोना अस्पताल बनाउँदा डब्लुएचओले तोकेको मापदण्ड अनुसार बनाएमा कुनै आपत्ति नहुने बताएपछि जनस्तरबाट उठेको विवाद साम्य भएको हो । विवाद साम्य भएसँगै मेचीकै निर्माणाधीन भवनमा कोरोना अस्पताल बन्ने निश्चित भएको छ ।

 

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसीआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरेको थियो । उक्त समितिले स्थानीयस्तरमा छलफल नगरी एकलौटी ढङ्गले निर्णय गरेपछि अस्पताल आसपासका स्थानीयले त्यसको विरोध गरेका थिए । विरोध गर्दै स्थानीयको एक भेलाले समाज गठन गरेका थिए ।

 

जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ११ झापामा हाल कोरोना भाईरस संक्रमितको संखया १ सय ११ रहेको छ । उनीहरुको धरान र बिराटनगरमा उपचार भईरहेको छ । ति दुबै स्थानमा बेड अभाब भएका कारण थप समस्या निम्तिरहेको छ ।

 

अहिले झापामा सङ्क्रमितको संख्या बढ्दै गइरहेको र उपचारमा समस्या भइरहेकोले भद्रपुरमै कोरोना अस्पताल बन्दा यहाँका सङ्क्रमितलाई राहत पुग्ने जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले जनाएको छ ।