संसदमा गगनको गर्जन, भने- ‘सभामुख महोदय अनुहारको दाग ऐनामा पुछेर जाँदैन’

काठमाडौं– नेपाली कंग्रेसका नेता एंव प्रतिनिधिसभा सांसद गगन कुमार थापाले सरकारसँग सर्वदलीय संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले रुकुमलगायत लकडाउनको अवधीमा जातीय विभेदको कारणले ३२ जना बढी दलितहरूको हत्या, आत्महत्या,बलात्कारको घटनाको छानवीन गर्न छानबीन समितिको माग गरेका हुन् ।

उनले सदनले छानविन समिति नबनाएसम्म आफूहरू माग गरिहने, न्यायको पक्षमा बोलिरहने र लडिरहने पनि बताए ।

रुकुमको सामूहिक हत्याले सबैको अनुहारमा कालो पोत्तिएको भन्दै उनले भने– ‘सविधानमा स्वतंत्रताको हक, समानताको हक, आत्मासम्मान पूर्वक बाच्न पाउनु पर्ने हक, जातीय जीवन जीउन पाउने हक ,छुवाछुत तथा भेदभाव विरुदको हकदेखि दलितको हकसम्म सबै लेख्यौं, कानून बनायौं भनेर गर्व गरिरहँदा रुकुमको सामूहिक हत्याले हाम्रो अनुहारमा कालो पोत्तिएको छ ।’

यस्तो अमानविय र क्रुर घटनालाई भवित्वय हो भनेर देखाउन र साह्यक कारणहरू देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारिलाई संसदले टुलुटुलु हेरेर बस्न लाज पनि आफूहरूसँग लजाउने उनले बताए ।

उनले भने– ‘अनुहारको दाग ऐनामा पुछेर जाँदैन ।’