
झापा: गतवर्ष झापाको गौरादह नगरपालिकाका केही वडाहरुले मकैमा आत्मनिर्भर बनाउने भन्दै निकै तामझामका साथ बीउ वितरण गरे । वडाले उत्साहित हुँदै निशुल्क रूपमा वितरण गरेको भनिएको मकैको बीउ प्रयोग गर्ने किसानको हातमा खोया मात्र फलेको भन्दै सामाजिक संजालमा जतासुकै तस्बिरहरु आउने गरेको देखिन्छ । वडा कार्यालय द्वारा वितरण गरिएको मकैको बीउ कम गुणस्तर र हावापानी नसुहाउने खालको भन्दै किसानहरु आक्रोशित बनेका छन् ।
गौरादह १ सितापुरीका युवा कृषक दिपक सेढाईले इजरायल बाट फर्किने बित्तिकै करिब डेढ बिघा क्षेत्रफलमा वडाकार्यालय बाट प्राप्त मकै रोपे । १ वर्षे लामो कृषि तालिम लिएर फर्किएका जागरुक र कृषि क्षेत्रमा सक्रिय रहदै आएका सेढाईले २ सय मन भन्दा माथि मकै फलाउने सपना बुनेका थिए । आफ्नो घरको आगनमा थुपारिएका थोते मकैका घोगाको तस्बिर सामाजिक संजालमा पोस्ट गर्दै उनि भन्छन्, ‘अनुदानमा ल्याएकाे बीउकाे नतिजा, सम्बन्धित निकाए जवाफदेही हुने कि नहुने? किसानलाई क्षतिपूर्ति कसले उपलब्ध गराउने हो? यस्ता कमिसन का बीउ ल्याएर किसान लाई हेप्ने? उचित छानबिन हुनुपर्यो?
वडा कार्यालयले हचुवाको भरमा बीउ वितरण गरेको आरोप लगाउने कृषक सेढाईले कमिसनमा बीउ ल्याएर किसानलाई दुख दिएको भन्दै वडाकार्यालय माथि आरोप लगाएका छ। सेढाई मात्र होइन यस वडाका धेरै जसो किसानले मकैको बिउको कारण बाट ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको गुनासो गर्छन् । यसलाई आर्थिक क्षति मात्र नभनेर ठगिएको नै भन्दा फरक नपर्ने उनीहरुको धारणा छ ।
गौरादह १ सितापुरी शिक्षक तिलक तिम्सिना सामाजिक संजालमा व्यंग्य गर्दै लेख्छन्, ‘गौरादह खोयो उत्पादनमा आत्मानिर्भर बनाउन सफल भएजस्तो छ । किसानले पाउने खोयो नै हो ।’
त्यस्तै रविन राज पाण्डे सामाजिक संजालमा आफुले फलाएको मकैको तस्बिर पोस्ट गर्दै लेख्छन्,अनुदान कै हो मेरो त राम्रो फल्यो….मल जल पुगेका ले होला सायद’
मकैको बीउ खराव परेको कारण वडा कार्यालयले क्षतिपूर्ति दिएर मात्र समस्या समाधान नहुने भन्दै आफ्नो नाम गोप्य राखिदिने सर्तमा गौरादह ४ कि एक महिला किसानले आक्रोश पोख्दै भनिन् , ‘लक डाउनको अनिकाल टार्ला भनेको त खोयो मात्रै हात पर्यो, सपना सबै खरानी भयो, खोया मात्र फल्ने बीउ वितरण गरेको रहेछ, सरकारले किसानलाई निरास पार्दैछ।’
लक्ष्मण प्रसाद लिम्बू सामाजिक संजालमा आफुले फलाएको मकैको तस्बिर सार्वजनिक गर्दै लेख्छन्, ‘मैले त निकै मोटो रकममा बीउ किनेर हालेको थिएँ, नतिजा राम्रै आयो।’
पछिल्लो समय कृषिमा राजनीति हावी हुँदै गएको र यस बाट सस्तो लोकप्रियताका नाममा घटिया बीउ र कम गुणस्तरको मल थोपर्ने गरेको किसानहरुले आरोप लगाउन थालेका छन् । खेती प्रविधिको बारेमा सामान्य अनुभव नभएको व्यक्तिले गुलिया भाषण गर्दै कम गुणस्तरको बीउ वितरण हिड्नु र किसानलाई गम्भीर क्षति भएको बेला मुख लुकाएर हिड्नु आश्चर्यजनक र हास्यास्पद व्यवहार भएको किसानहरुको ठहर छ ।
साना किसानले वितरण गरेको बीउ पनि उस्तै
सस्तो लोकप्रियताका नाममा गौरादह नगरपालिका भित्र गुणस्तरहिन बीउ बिजनको वितरणमा होडबाजी नै आउन थालेको छ ।
गौरादह १ नं. वडा सदस्य देवी माया श्रेष्ठ आफैंमा अब्बल कृषक हुन् । यो पटक श्रेष्ठले करिब २ बिघा जमिनमा मकै खेती गरिन् । आधुनिक खेती प्रविधिको बारेमा राम्रै जानकारी भएकी उनलाई यस पटकको मकै बाली भित्र्याउदा अरु किसानको जस्तो पीडा भने भोग्नु परेको छैन । बीउ वितरणमा केही ढिलाइ भएको कारण उत्पादनमा समस्या भएको हुन सक्ने उनको अनुमान छ । ‘बीउ वितरण गर्दा केही ढिलाइ भएकै हो, बीउ नराम्रो हुँदै होइन’, उनले जिकिर गरिन् । मकै बीउ वितरण बारे वडाको सुरुवाती मिटिङमा आफू पनि रहेकोे तर काम विषेशले काठमाडौ जानुपरेको कारण कुन जातको मकै वितरण गरियो आफुलाइ जानकारी नरहेको श्रेष्ठको जवाफ छ । यद्यपि उनले वडा द्वारा वितरित बीउ नरोपेको तर साना किसानले वितरण गरेको बिउमा भने समस्या देखिएको उनको भनाइ छ । साना किसानले वितरण गरेको २ किलो बीउ आफैंले रोपेकोमा संतोषजनक उत्पादन नभएको तर त्यसको तुलनामामा स्थानीय जातको मकैको उत्पादन निकै राम्रो देखिएको उनको भनाइ रहेको छ । मकैमा राम्रो उत्पादन लिनको लागि सुत्ला च्याप्ने र घोगा लाग्ने समयमा उपयुुक्त तापक्रम चाहिने भएकोले कात्तिकको अन्तिम साता देखि मंसिरको दोश्रो साता सम्ममा मकै लगाइ सक्नुपर्ने जसले गर्दा सुत्ला च्याप्ने समयमा १० डिग्री तापक्रम बिरुवाले भेट्ने र घोगा लाग्ने समयमा २५ डिग्री तापक्रम भन्दा बढी हुदा मकै भरिलो नहुने सम्भावना बढ्न सक्ने वडा सदस्य श्रेष्ठको सुझाव छ ।
राजनीतिको कमजोर धरातल बाट माथि उठ्न प्रयास गर्दै गरेका र खेती प्रविधि, बालीनाली, रोग प्रकोपको बारेमा सामान्य जानकारी नै नभएका, जथाभावी सल्लाह सुझाव दिदै हिड्नेहरु संग किसानले सचेत हुनुपर्ने मेची नगर नगरपालिकाका युवा कृषक विजय नेपाल बताउछन् । कृषक नेपालले करिब ४ बिघामा बर्सेनि मकै लगाउने गरेका छन् । आफुले लगाएको मकै बालीबाट अहिलेसम्म नोक्सान बेहोर्नु परेको उनलाई खासै अनुभव छैन । झापा, मोरङ र सुन्सरीको माटो मकै खेतीको लागि योग्य रहेको उनि बताउछन् । अयोग्य र अनुभवहिन प्राबिधिक बाट समेत जोगिएर खेती गर्नुपर्ने उनको तर्क छ । ‘प्राबिधिकले पनि सैद्धान्तिक सल्लाह मात्र दिने हुन्, आफ्नो माटोमा कस्तो फसल कसरी उत्पादन गर्ने भन्ने कुरा आफैंले जानकारी लिनुपर्छ, कृषक नेपालको सुझाव छ ।
उन्नत जातको बिउबाट २ सय ५० मन मकै
गौरादह १ स्थायी बसोबास भइ वडा नं. ४ मजुवामा करिब २ बिघा जमिनमा मकै खेती गरेर करिब २ सय ५० मन मकै फलाउन सफल कृषक गोपी आचार्यको अनुभव भने निकै रमाइलो देखिन्छ । घर आगन, कोठा, छत र सिलिङमा जतासुकै थुपारिएका मकैका थाकहरु देख्दा उनले मकै बाट पाएको सफलतालाई सिधा आकलन गर्न सकिन्छ । २ बिघा क्षेत्रफलमा मकै खेती गर्दा करिब ४० हजार हाराहारीमा लगानी भएको बताउने आचार्यले धेरै जसो उन्नत जात र परिक्षणको लागि स्थानीय जातको मकै समेत लगाएका थिए । दुवै जातको बीउ बाट उत्पादन राम्रो भएको कृषक आचार्यको भनाइ छ। वडा आचार्यले १नं. वडा कार्यालय संग बिउको लागि अनुरोध गरेको तर १ नं. वडा बाहेक अन्य वडामा खेती गर्नको लागि बीउ दिन नमिल्ने जानकारी पाएपछि उनले वाध्य भएर उन्नत जातको बीउ लगाएका थिए ।
बीउ बारेमा अनुभव सुनाउदै आचार्य भन्छन्, ‘वडाले बीउ दिएको भए अहिले रुवाबासी हुने रहेछ, धन्न बचियो ।’ आफुले नजानेको र अनुभव नै नभएको विषयमा किसानलाई जथाभावी रूपमा बीउ वितरण गर्नु लाई अस्वाभाविक मान्नु नहुने र यस्तो गैर जिम्मेवारीको अन्त्य हुनुपर्ने आचार्यको भनाइ रहेको छ । वडाहरुले वितरण गरेको मकैको बोट राम्रो नदेखिएको आचार्यको भनाइ पाइन्छ । ‘मैले उक्त बीउ रोप्न नपाए पनि छिमेकीहरुले रोपेका थिए, मेरो मकैमा सुत्ला च्याप्न लाग्दा र घोगा लाग्ने समयमा सेल्फी खिच्न आउनेहरू अत्यधिक हुने गरेका थिए, आचार्यले अनुभव सुनाउदै भने ।
बीउ पाइयो तर मल पाइएन
झापा जिल्ला मकै र धानको उत्पादनको लागि मुलुककै चर्चित ठाउँ हो । धान र मकैको लागि उपयुक्त भनेर सरकारले घोषणा गरेको क्षेत्रमा समयमा पर्याप्त मल नपाइनु नै किसानको लागि सबैभन्दा ठूलो चिन्ता बढ्दै गएको छ । छिमेकी नगरपालिकाले फोहोर बाट प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले ठुला ठुला परियोजना सञ्चालन गर्न लाग्दा गौरादह नं. पा. ले भने त्यता तिर ध्यान पुर्याउन नसक्नु जनप्रतिनिधिकै अपरिपक्कता र उदासिनता भएको सरोकारवालाको ठहर छ । पछिल्लो समय सहकारीहरुलाई मात्र मल बेच्न पाउने सुबिधा दिइएका कारण पनि मल वितरणमा न्यायोचित नभएको कृषकको गुनासो बढ्दै गएको छ। समय गुज्रदै गए पछि बीउ र मलको बारेमा सक्रियता देखाउने तर समय छदा गृहकार्य नै नगर्ने नगरपालिकाको ढिलासुस्तीले गर्दा प्रताडित हुनुपरेको किसानको ठहर छ ।
जसोतसो मकै त फल्यो, मुल्य खोइ?
धेरै मेहनत, मोटो लगानी र ठुलो इच्छाशक्ति लगाएर जसोतसो उत्पादन गरेको मकैको बजार नहुदा किसानहरु पीडामा छन् । २ सय ५० मन मकै फलाउने गोपी आचार्यलाई मकैको भाउ नहुदा ठूलो चिन्ता थपिएको छ । उत्पादित मकै भण्डारण गर्ने ठाउँको अभाव एकातिर छ भनें अर्को तिर मुल्य पर्खिएर बस्दा मकै बिग्रने डर । ‘मकै उत्पादनमा आत्मनिर्भरताको नारा लगाउने नगरपालिकाले उत्पादित वस्तुको खरिद गरिदिने अथवा मूल्य तोकिदिने कसले हो?’, आचार्य प्रश्न गर्छन् ।
गौरादह ३ का कृषक रोहित आचार्यलाई पनि मुल्य कै चिन्ता छ । सामाजिक संजालमा प्रतिक्रिया दिदै कृषक आचार्य प्रश्न गर्छन्, ‘मकैमा आत्मनिर्भर बनाउछु भन्ने स्थानीय सरकारले बजारको व्यवस्थापन गरिदिनु पर्दैन?’
झापा जिल्ला लाई मकै खेतिमा आत्मनिर्भर बनाउन के गर्नुपर्ला भन्ने ओमकारको हिजोको सवालमा प्राप्त अभिमत मध्ये महत्त्वपूर्ण बिचारहरु लाई यहाँ प्रस्तुत गरिएको छ:
नारायण काफ्ले (कानुनबिद)– मेरो विचारमा हाम्रो झापा जिल्लामा धान पछि को ठुलो नगदे बाली मकै हो र धानपछिको दोस्रो ठूलो उत्पादन हुने खेती पनि झापा नै हो । झापाका कनकाई नगरपालिका, झापा गाउँपालिका शनि अर्जुन , शिव शताक्षी ,कमल र गौरादह नपा मा हजारौं हेक्टर क्षेत्रफलमा मकै खेती योग्य छ्न र मकै खेती गर्न सकिन्छ । साथै किसानले आ-आफ्नो तरिकाबाट गरि आएका पनि छन । मकै खेती लाई मकै जोनको शीर्षक दिएर सञ्चालन गर्न सकिन्छ । जसका लागी जिल्लाले नै मकै जोन परियोजना कार्यक्रम ल्याइ कार्यान्वयन गर्न लागीपर्न्नु पर्छ । मकै जोन सञ्चालनका लागि संघीय सरकार र प्रदेश सरकारले छुट्टै बजेट विनियोजन गर्नु पर्छ । स्थानिय सरकारले कार्य योजना दिनु पर्छ । त्यस पछि मकै खेतीका लागि चयन भएको क्षेत्रमा अध्ययन, अनुसन्धान, माटो तथा बाली संरक्षण शिविर, आकस्मिक बाली संरक्षण सेवा, प्रविधि प्रदर्शन, गोदाम घर निर्माण, कस्टम हायरिङ सेन्टर स्थापना, साना सिँचाइ, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिम तथा प्रचारप्रसार लगायतका कार्यक्रम संचालन गर्न्नु पर्छ । बजारीकरण को जिम्मेवारी सरकारले लिनुपर्छ । यसरी मकै जोन घोषणा गरि आयोजना थाल्ने हो भने किसानलाई आत्मनिर्भर पनि बनाउन सकिन्छ ।
धनकुटे कान्छा (साहित्यकार)– झापा धानका लागि प्रसिद्ध उब्जनी हुने अन्नकाे भण्डार हाे। पछिल्लाे समय जग्गा प्लटिङले उर्बराभूमि बर्बाद हुँदैछ भने नक्कली किसानले सक्कली किसानलाई अाउने अनुदान र सहयाेग लिने गरेका कारण सक्कली किसान कृषिबाट टाढिन र निराश बन्न बाध्य छन्। अब मकैकाे विषयमा पनि व्यवसायिक खेतीकाे सुरुवात नभएकाे हाेइन। तर यसका लागि बिऊ,बिजन,प्राविधिक सहयाेग र बजारकाे समुचित व्यवस्था नहुँदा किसान निराश छन्। पछिल्लाे समय सामूहिक खेतीबाट केही उत्साह झापामा देखिदै अाएकाे छ। मकै किसानलाई बिऊ,बिजन,खाद्यमल,सिचाँइकाे व्यवस्था तथा सरकार स्वयमले खरिद गर्ने व्यवस्था हुन सके यसमा अाकर्षण बढ्ने देखिन्छ। अझ मकैकाे चिउरा लगायतका खाद्यान्य बनाउने मेशिन लगायतकाे व्यवस्था सरकारले गर्न सक्याे भने मकै खेती प्रति थप अाकर्षण र खाद्यसंकट टार्न साथै राेजगारी सिर्जनामा समेत मकै खेती सहायक बन्न सक्छ। सरकारकाे ध्यान जान अावश्यक छ।
बालचन्द्र कट्टेल (प्राध्यापक) – झापामा मकै खेती सफल बनाउन निम्न कुरामा ध्यान पुर्याउनु पर्ला:
१. यहाँको हावापानीमा उत्पादन हुने उचित जातको बिउको छनौट
२. मकै खेती लगाउने ठिक समयको पहिचान ( जसमा मौसमि र बेमौसमी ) ।
३. खेती लगाउने प्राबिधिक ज्ञान र सिपको प्रयोग।
४. बालिनालीको हेरचाह , गोडमेल तथा सिचाइको उचित प्रवन्ध ।
५. व्यवसायिक रुपमा बिस्तार र उत्पादनको बजार ब्यवस्थापन ।
यादव अधिकारी गौरादह (शिक्षक) – उन्नत बिउ विजन , मल खाद, पानी सिचांइ र बजार ग्यारेन्टी सरकारले गरे बांकी काम किसान आफैले गर्ने थिए, सब्सिडी को त्यति आवास्यक छैन बरु जोखिमको बिमा भए कृषक उत्साहित हुने थिए ।
निसा दाहाल (पत्रकार ) – सरकारले बेवास्ता गरेर २०७६ साल को चैत्र महिना तिर अगौटे मकै मा युरिया तथा किरा मार्ने बिषादी प्राप्त नगर्दा बाली फस्टाउन सकेन साथै फौजी किराको सहित आक्रमण हुदा धेरै मात्रमा कृषकले हानी बिहोर्नु पर्यो । लकडाउनको अबस्था मा बिउ लगायत अन्य कृषिजन्य सामग्री उपलब्ध नहुँदा आगामी दिनमा उत्पादन अझ घट्ने र स्थानीय तहको अदुरदर्शी, अनुभवहिन र कछुवाको घस्राइका कारण कृषकहरूमा उदासीनता थपिने स्पष्ट देखिन्छ ।