त्रिशुली बस दुर्घटना: मृत्यु हुनेको संख्या नौ पुग्यो ,२९ जना घाइते

धादिङ । धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस त्रिशूली नदिमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

पृथ्वी राजमार्गबाट ५० मिटर तल ना७ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हनुेमा इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, धादिङ वेनिघाट रोराङका राजन आचार्य, चन्द्रागिरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् ।
यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगर रहेका छन् । उनीहरुको भने ठेगाना खुल्न नसकेको र अन्य ३ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
नामथर नखुलेको वर्ष ४० का एक पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । यस्तै वतन नखुलेको अन्दाजी ३०/३२ वर्षका एक पुरुष र नामथर वतन नखुलेको अन्दाजी वर्ष २०/२२ को पुरुषको शव दिउँसो ३ बजेतिर घटनास्थलमा फेला परेको थियो ।
दुर्घटनामा २९ जना घाइते भएका छन् । जसमा १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उद्दारपछि तत्काल काठमाडौं पठाइएको थियो ।
बाँकी घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।