
काठमाण्डाै – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारले गरेको लकडाउन अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय कार्यान्वयन नभएकाेमा गुनासाे गरेका छन् ।
शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कुल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो ।
“आफैँले गरेको निर्णय कार्यान्वयन नहुने यो सरकारको कस्तो निर्णय हो”, उहाँले भन्नुभयो । यस्तै नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएकामा उहाँले रोष प्रकट गर्नुभयो ।
त्यसै दलकी अनिता देवकोटाले यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोतीमा भएको घटना सेलाउन नपाउँदै सप्तरीमा एक महिलालाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको जनाउँदै दोषीमाथि कडा सजायको माग गर्नुभयो ।
नेकपाकी उदया शर्मा पौडलले कोभिड–१९ कारण धेरैको रोजीरोटी गुमेकाले ठाउँठाउँमा आत्महत्याका घटना बढेको तथा कतिपय निकाय एवं संस्थाले कर्मचारी निकाला गरेकाले लकडाउन खुकुलो बनाइ जनजीवन सहज बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपाकै कोमल वलीले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकको करार सम्झौता कार्यान्वयन नभएको भनी चिन्ता व्यक्त गर्नुभयो ।