यस्ता छन् सर्वसाधारणले अनिवार्य पालना गर्नुपर्ने ‘जनस्वास्थ्य मापदण्ड’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोग महामारीको नियन्त्रणका लागि सर्वसाधारणले अनिवार्य पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको मापदण्डअनुसार, सबै किसिमका जमघट, भेला, समारोह जस्ता कार्यक्रमहरुमा कम्तीमा दुई मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

बिज्ञापन

यस्तै घरबाहिर निस्किनेबित्तिकै मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ । त्यसैगरी कार्यालयमा हात धुने व्यवस्था र सेनिटाइजर अनिवार्य राख्नैपर्छ ।

कुनै पनि कार्यालयको भवन प्रवेशअघि अनिवार्य रूपमा साबुनपानीले हात धुनैपर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।

यीबाहेक मन्त्रालयले आधारभूत र संस्थागत रूपमा पनि मापदण्ड जारी गरेको छ । बन्दाबन्दीलाई सहजीकरण गर्दै दैनिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने भएकाले मापदण्ड जारी गर्नु परेको मन्त्रालयले जानकारी दिएको छ ।

मापदण्डअनुसार आधारभूत रूपमा कुनै पनि वस्तुलाई नछुने, आफ्नो आँखा, कान, नाक र मुखलाई अनावश्यक रूपमा छुन हुँदैन । यस्तै खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले नाक छोप्नुपर्ने र हाछ्युँ गर्दा कुहिनाले नाक छोप्नुपर्ने लगायतका प्रावधान मन्त्रालयले जारी गरेको मापदण्डमा रहेको छ ।
यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।