
काठमाडौं : सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण जोखिम न्यूनीकरण सम्बन्धी उच्चस्तरीय समिति खारेज गरेको छ ।
उच्चस्तरीय समितिले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले समिति खारेज गरिएको हो।
उच्चस्तरीय समिति खारेज गरेर समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई दिने निर्णय समेत भएको स्रोतले बताएको छ ।
बालुवाटार स्रोतका अनुसार कोरोनासँग सम्बन्धित सबै काम एउटै सेन्टरबाट गर्दा प्रभावकारी हुने देखिएको कारण समिति खारेज गर्ने निर्णय भएको हो । त्यस्तै समितिले गर्दै आएको काम सीसीएमसीले गर्ने निर्णय भएको छ ।
‘माइन्युट हुन बाँकी छ तर खारेज भए बराबर हो,’ बालुवाटार स्रोतले भन्यो ।
त्यसो त गत फागुन तेस्रो साता मन्त्री पोखरेलको नेतृत्वमा समिति गठन भएको थियो । पोखरेलको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, संस्कृति पर्यटन, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सदस्य रहेको उच्चस्तरीय समिति गठन भएको थियो ।
समितिले पहिलो निर्णय अन्तर्राष्ट्रिय सिमाना, हवाई उडान रोक्ने र ११ चैतबाट लकडाउन गर्ने सिफारिस मन्त्रिपरिषदलाई गरेको थियो । त्यसपछि चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गठन गरेको थियो ।