
बाजुरा : हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् ।

भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् ।



उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि आज अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए ।

परीक्षणमा पोजेटिभ आएपछि उनीहरुले स्वास्थ्यकर्मी माथि आक्रमण गरेका थिए । स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिए ।
स्वास्थ्यकर्मी भण्डारी अहिले बोल्न सक्ने स्थितिमा नभएको बताइएको छ ।