
काठमाडौं : गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवा ह्याक भएको छ ।

बुधबार दिउँसो ह्याकरहरुको समूहले अनधिकृत तवरले ह्याक गरी उक्त म्यासेज सर्भिसबाट गलत सुचना पठाइएको थियो ।



गृहको एसएमएस सेवाबाट अनधिकृत रुपमा भारत–चीन सीमा विवादबारे एसएमएस प्रवाह भएको छ ।

भारत–चीन सीमा विवादबारे एसएमएस मन्त्रालयका सबै कर्मचारीलाई गएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
‘हाम्रो नियमित सूचना एमओएचए नामबाट म्यासेज पठाएर प्रवाह गरिन्छ’, ती अधिकारीले भने– ‘त्यसैमा भारतको पक्षमा एसएमएस आएको छ ।’
मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसो करिब दुई बजे मन्त्रालयको एसएमएस प्रणालीमा ह्याकरले अनधिकृत रुपमा पहुँच पु-याएको बताए ।
उनले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नभएका पनि स्पष्ट पारे ।
यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान कार्य शुरु गरिएको र उक्त सूचनाको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
यसबारे प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
यसअघि नेपाल–भारत सीमा विवाद चर्चामा आएपछि दुई मुलुकका ह्याकरबीच वेवसाइट ह्याक गर्ने प्रतिष्पर्धा चलेको थियो । यद्यपि दुवै समूह पछिल्लो समय मौन प्रायः थिए ।