
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् ।
कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए । बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’
स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।
खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’
‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षा गर्न सकिँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षै गर्न सकिँदैन । त्यो त एउटा हुल आएको हो । जव एक महिनामा २ लाख ४१ हजार ८६२ जना आउँछन् त्यो कुरै भएन’, प्रधानमन्त्रीको भनाइ छ । उनले भारतबाहेक अरु देशबाट आउनेको भने टेष्ट हुने गरेको बताए ।
प्रधानमन्त्रीले ओलीले अहिलेसम्म बाहिरबाट आएकामा मात्रै संक्रमण देखा परेको भन्दै सरकारको सजगताका कारण समुदायमा फैलन नपाएको दावी समेत गरे ।
‘अहिलेसम्म बाहिरैबाट संक्रमित भएर आएका हुन् । यहाँ समुदायमा फैलिएको छैन’प्रधानमन्त्रीले बाहिरै संक्रमित हुन नदिन नसकिने पनि बताए ।
‘बाहिरै संक्रमित हुन नदिने हामी जादु गर्नसक्छौ र ?’ उनको प्रश्न थियो । उनले कोरोना नियन्त्रणमा खर्च भएको दश अर्ब खर्च गर्न तल पठाएको भन्दै अहिले ‘कता गयो दश अर्व ?’ भन्नेहरुलाई सवै हिसावकिताव पारदर्शी हुने बताए । उनले यो देशमा भ्रष्टबाहेक कोही जन्मदैन भन्ने नियत नराख्न आग्रह गरे ।