जन्मकैदको माग गर्दै सांसद सरिता गिरीविरुद्ध जाहेरी दर्ता

काठमाडौं : जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै महानगरीय प्रहरी परिसर टेकमा जाहेरी परेको छ ।

शुक्रबार साँझ महानगरीय प्रहरी टेकुमा अभिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराव जाहेरी दरखास्त दर्ता गरेको अभिवक्ता सन्तोष भण्डारीले जानकारी दिए।

बिज्ञापन

गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा (१) वा (२) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त कानुनी व्यवस्थाअनुसार राज्यविरुद्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ ।

नेपालको कानुन व्यवस्थाविरुद्ध षड्यन्त्र गरेको भन्दै गिरीलाई तत्काल पक्राउ गरिनुपर्ने जाहेरीमा उल्लेख छ ।

सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सक्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात हतियार वा खरखजना जम्मा गर्ने हातहतियारसहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानुनमा उल्लेख गरिएको छ ।

दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गर्ने वा गराउने गर्न नहुने व्यवस्था छ ।

गिरीले आधार र प्रमाणबिना कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा संशोधन दर्ता गरेकी थिइन् ।

उनको संशोधन प्रस्ताव संविधानको मत विपरित रहेको भन्दै सभामुखले खारेज गरिदिएका थिए । उनले नयाँ नक्साको निर्णय र संविधान संशोधाविरुद्ध विभिन्न माध्यमबाट वक्तव्यवाजीसमेत गर्दै आएकी छन् ।