किन लोसपा छोड्दैछन् अगरिया ? असोज ८ गते एमाले प्रवेश गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर हालसम्म लोसपामा राजीनामा दिएको छैन ।’ राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।’लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्, उनीहरुको बीचमा छलफल चलिरहेको छ, कहिले राजीनामा दिने, कसरी दिने विषयमा छलफल भइरहेको  छ’, उनले बताए ।

लोसपा किन छाड्न लाग्नु भएको हो भन्ने जिज्ञासामा उनले पार्टीमा राजीनामा दिएपछि मात्र विस्तृतमा जानकारी गराउने प्रतिकृया दिए । ‘पार्टी छाड्नुपर्ने कारण थुप्रै छन् तर अहिले लोसपाबाट राजीनामा नदिएको कारणले ती कुराहरु उजागर नगर्ने मिल्दैन । एक दुई दिनमा सबै कुरा बाहिर  ल्याउँछु’, उनले भने ।

कांग्रेसबाट राजनीति सुरु गरेका अरगरिया मधेश आन्दोलनपछि मधेश राजनीतिमा प्रवेश गरेका थिए । तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर उनी मधेसको राजनीतिमा सक्रिय भएका थिए ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि अरगरिया पनि सो पार्टी छाडेका थिए । गच्छदार काँग्रेससँग एकीकरण गरेपछि उनी पुनः उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गरेका थिए ।

२०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा–२ बाट चुनाव जितेका अरगरिया जसपा विभाजन हुँदा महन्थ ठाकुरलाई साथ दिएका थिए । महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेका थिए । ओली नेतृत्वको तत्कालिन सरकारमा जसपाको महन्थ ठाकुर पक्षका १० जना मन्त्री बनेका थिए, त्यसमध्ये एक अरगरिया पनि थिए ।

पछिल्लो समय लोसपाको संगठन निर्माण र सो पार्टीको गतिविधिप्रति उनी असन्तुष्ट रहेका थिए । ‘जसपा गठन भएको एक वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म केन्द्रीय समिति बनेको छैन । पार्टीमा कार्यकारिणी समिति छ । त्यसको पनि बैठक बस्दैन । पार्टीभित्रका पाँचजना (महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ सुक्ला) ले जे गर्छन् त्यही हुन्छ । अन्य नेताहरुसँग कुनै सरसल्लाह तथा सोधपुछ छैन’ उनले गुनासो गरे ।

स्रोतका अनुसार उनले लोसपामा परिवार वाद हावी भएको गुनासो गर्दै आइरहेका छन् । आगामी चुनावका लागि महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाई, शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गरेका छन् । उनीहरु पार्टीका नेताहरुको चिन्ता छाडेर आआफ्नो परिवारका सदस्यलाई कसरी सांसद बनाउने चिन्ता गरिररहेको भन्दै अरगरियले पार्टीभित्र गुनासो गर्दै आएका थिए ।