
झापा । स्वास्थ्य बिमा गरेका विरामीलाई झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालले औषधि दिन बन्द गरेको छ ।

अस्पतालले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य उपचारका लागि अस्पताल आएका विरामीलाई औषधि दिन बन्द गरेको जनाएको छ ।



स्वास्थ्य बिमा वोर्डले अस्पताललाई तिर्नु पर्ने रकम उपलब्ध नगराएकाले बिरामीलाई औषधि दिन बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले बिहीवार प्रदेश कार्यालयलाई औषधिको अभाव देखाउदै सेवा रोक्ने जानकारी गराएको थियो । स्वास्थ्य बीमा बोर्डको प्रदेश कार्यालयले बीमाबाट उपचार गर्नेहरुलाई दिने औषधि अभाव देखाएर बाहिरबाट औषधि बिक्री गरे कारवाही गर्ने चेतावनी दिइसकेको छ । एक वर्षदेखि बीमाबाट उपचार गर्दै आएको अस्पतालले ८ करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । पैसा रोकिएकाले काम गर्न सकेनौं, प्रशासनका कर्मचारीले भने — भुक्तानी लगत्तै कामअघि बढ्छ ।
स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय झापाकी प्रमुख लक्ष्मी कणेलले बिएण्डसीले सेवा रोकेको विषय केन्द्रलाई जानकारी गराएको बताइन् । उनले स्वास्थ्य सेवा नै रोक्नु गलत भएको बताएकी छन् । पैसा रोकिएको सन्दर्भमा कणेलले भनिन् — पैसा रोकिएको भए जिल्लाका अन्य २१ स्वास्थ्य संस्थाले कसरी उपचार सेवा दिन्थे ? भुक्तानी निरन्तर भइरहेको छ, बिएण्डसीले बीमा बोर्डलाई औषधि अभाव भएको जानकारी दिएको उनको भनाई छ । जिल्लामा २२ वटा स्वास्थ्य संस्थाले बीमाबाट उपचार गर्दै आएका छन् । ठुलो अस्पतालमा भुक्तानी क्लियर नभएको होला, तर पैसा नदिएको भन्ने चाहीँ गलत हो, कणेलले भनिन् । केहि रकम बाँकी हुन सक्छ, भुक्तानीको प्रक्रिया लामो भएकाले समय लागेको हुन सक्ने उनको भनाई छ ।
अस्पतालले सेवाग्राहीलाई औषधि दिन छाडेपछि स्वास्थ्य बिमा गरेका विरामीले छुट्टै रकम तिरेर निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य भएका छन् ।
दमक नगरपालिकामा रहेको दमक अस्पताल प्रालिलेसमेत स्वास्थ्य बिमा वोर्डले समयमा रकम उपलव्ध नगराएको जनाएको छ । झापामा अहिलेसम्म तीन लाख ३३ हजार ७६ जनाले स्वास्थ्य बिमा गरेका छन् ।