नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल मैदानमै गएर हेर्न सरकारले दर्शकलाई अनुमति

काठमाडौँ : नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल दर्शकले मैदानमै गएर हेर्न पाउने भएका छन् । खेल हेर्न सरकारले दर्शकलाई अनुमति दिएको छ । सरकारले एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न भनेको हो । सरकारले ५१ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ ।

तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ। टिकट अनलाइनबाट किन्न सकिनेछ । टिकट मूल्य साँझसम्म टुंगो लाग्ने एन्फाले जनाएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बिज्ञापन

नेपालले भारतसँग भोलि ( बिहीबार ) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५: ३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।