रेल पिडित झापालीले गरे पीडित समन्वय समिति गठन

झापा: झापाको दक्षिण पश्चिम भागमा पर्ने कमल गाउँपालिका स्थित वडा नं. ६ लखनपुर आसपासमा बसोबास गर्ने नागरिकहरुले रेलमार्ग पिडित समन्वय समिति गठन गरेका छन् । वडा नं. ६ का पिडित तथा प्रभावितहरुको संयुक्त भेलाले समन्वय समिति गठन गरेको हो ।

 

बिज्ञापन

कृष्ण भन्डारी अध्यक्ष रहेकोे पिडित समन्वय समितिको सचिबमा मिनोद संग्रौला तथा सदस्यहरुमा हरि प्रसाद घिमिरे, भरत राई, मदन मिश्र, हर्क बहादुर राया, भोला ओली, सन्तोष भण्डारी, देवी संग्रौला, टीका बिमली र मुना महरा रहेका छन् । त्यसै गरि उक्त भेलाले बिमल संग्रौला, दिलिप संग्रौला र दिपेनवाला राई रहेको तिन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समिति गठन गर्नुको उद्देश्य बारे प्रकास पार्दै नव गठित समितिका सचिब मिनोद संग्रौलाले मेची महाकाली रेल्वेको निर्माण गर्दा कमल ६ हुँदै पश्चिम हुँदै रेल मार्ग जाने केन्द्र सरकारको योजना रहेको कुरा आफुहरुले सञ्चारमाध्यम बाट मात्र जानकारी पाएको बताएका छन् ।

 

रेल बिभागले स्थानीय संग कुनै परामर्श समेत नगरी मुवाब्जा वितरणको प्रक्रिया थाल्न लागेकोमा चिन्ता थपिएको बताइएको छ। ‘रेल बिभागले मुवाब्जा वितरण गर्ने अरे भन्ने हल्ला सुनियो तर कुन प्रक्रियामा मुवाब्जा वितरण गरिने हो? डि. पी. आर. को ढाचा कस्तो छ? बाक्लो जनघनत्व भएको यस क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित त हुनुपर्ने होइन भन्ने समेत चिन्ता बढेको छ’, संग्रौलाले ओमकार प्रतिनिधि संग भने ।

 

रेलमार्ग निर्माण गर्दा हुन सक्ने क्षति बारे सरकारले स्पष्ट रूपमा निर्देशिका तैयार गर्नुपर्ने समेत आवाज उठ्न थालेको छ । मुवाब्जा वितरणको लागि धनीपुर्जा माग्न थालिएको बारेमा उक्त स्थानका वासिन्दाहरु आश्चर्यचकित भएका छन् । हचुवाका भरमा कसैले धनीपुर्जा माग्दैमा दिन नसकिने र धनीपुर्जा मागेको विषयले स्थानीयलाई भयभीत बनाएको पाइएको छ ।

 

सरकारले मेची महाकाली रेल मार्ग निर्माण गर्ने दीर्घकालीन योजना बनाएको छ भने यस वर्ष पुर्वको द्वार काकरभिट्टा सम्म रेल निर्माणको लागि मुवाब्जा वितरणको तैयारी थालेको छ ।