नेपालमा कोरोना भाइरस संक्रमण ७६ जिल्लामा फैलियो, चीनसँग सिमा जोडिएको एक जिल्ला सुरक्षित

झापा। नेपालमा कोरोना भाइरस संक्रमण ७६ जिल्लामा फैलिएको छ । अहिले सम्म एक जिल्लामा मात्र कोरोना संक्रमण भेटिएको छैन् । हिमाली,पहाडी सबै जिल्लामा संक्रमण भेटिएको छ ।

तराइका जिल्लाहरुमा त झनै बढी छन् । विशेषगरि भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिएको हो । पछिल्लो क्रममा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको छ । उनिहरुमा देखिएको संक्रमणले आम नागरिकमा त्रास कायमै छ ।

सरकारले संक्रमण नबढोस भनेर गत चैत्र ११ गते देखि नै लकडाउन घोषणा गरेपनि भारतबाट पहिलो चरणमा छिरेकाहरुलाई व्यवस्थितसँग राख्न नसक्दा कोरोना संक्रमितको संख्या बढेको हो । हिजो मात्र ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षका युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताउनुभएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुने जिल्ला ७६ पुगेको हो ।

तर स्वास्थ्य मन्त्रालयले ओखलढुंगामा सङ्क्रमण भेटिएको पुष्टि गर्न भने बाँकी छ । अब वाग्मती प्रदेशको रसुवा जिल्लामा मात्रै संक्रमण देखिएको छैन । अहिले सम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । २३ जनाको मृत्यु भएको छ भने कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

गएको जेठ ३२ गतेसम्म ५ हजार ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता दिनहुँ सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । असार १ गते ४ सय ५१ जना, २ गते ३ सय ८०, ३ गते ५ सय ८६, ४ गते ६ सय ७१, ५ गते ४ सय २६, ६ गते ३ सय ३१ र हिजो ४ सय २१ जना थपिएका हुन् ।

गएको जेठ ३२ गते रुकुमपश्चिममा संक्रमण पुष्टि भएको थियो । त्यसपछि सङ्क्रमण नदेखिएका ३ जिल्लामा पनि सङ्क्रमण भेटिएको छ । मनाङ, मुस्ताङ र ओखलढुंगामा सङ्क्रमण देखिएको हो । मनाङमा कपिलवस्तुबाट गएका कर्मचारीमा सङ्क्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद बिन्दु शर्माले बताउनुभयो ।

मुस्ताङमा ८३ वर्षका वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो ओखलढुंगामा सङ्क्रमण भेटिएपछि ७६ जिल्लामा सङ्क्रमण भेटिएको पुष्टि भएको हो । ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षका युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताउनुभयो ।

तर स्वास्थ्य मन्त्रालयले ओखलढुंगामा सङ्क्रमण भेटिएको पुष्टि गर्न बाँकी छ । अब वाग्मती प्रदेशको रसुवामा मात्रै संक्रमण देखिएको छैन । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ छ ।