शीर्ष ४ नेताको भनाइ धैर्यपूर्वक सुनेर बैठकबाट बाहिरिए ओली

स्थायी कमिटीको बैठकमा विरलै उपस्थित भएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली मंगलवारको बैठकमा झण्डै साढे २ घण्टा बसेका छन् । मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राखेका थिए ।

बैठकको शुरूमै अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दूतावासले चलखेल गरेको भन्ने आरोपबारे थप प्रस्ट पार्न आग्रह गरेका थिए । अन्य नेताहरूले पनि प्रधानमन्त्रीबाट हटाउन दूतावास लागेको तथा होटलहरूमा गतिविधि भएको भन्ने आरोपबारे थप प्रस्ट पार्न माग गरेका थिए ।

बिज्ञापन

आइतवार बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले नेपाली भूमि समेटिएको नक्सा जारी गरेलगत्तै आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न षड्यन्त्र भएको बताएका थिए । ‘प्रधानमन्त्रीलाई हटाउन विदेशी दूतावास र नेपालकै नेताले पनि चलखेल गरेको भन्ने आरोपको आधार के हो ? सरकार ढाल्ने कुरा ख्यालठट्टाको विषय हो ?’ प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।

ओलीले ४ जना नेताको भनाइ धैर्यपूर्वक सुनेको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए । असार १० गते शुरू भएको स्थायी कमिटी बैठकको दोस्रो दिन ओली उपस्थित भएका थिएनन् भने तेस्रो दिन आधा घण्टा उपस्थित भएका थिए । मंगलवारको बैठकमा भने चिया ब्रेक अघिसम्म ओली बैठकमा बसेका थिए । मंगलवारको नेकपा स्थायी कमिटी बैठकमा मञ्चमा रहेको नेताको कुर्सी तल भूइँमा सारिएको छ । लोकान्तर बाट साभार