नेपाल एयरलाइन्सको  संक्रमित समूहसँगै रहेका अन्य पाइलटले भरे उडान

काठमाडौं : नेपाल एयरलाइन्सका संक्रमित पाइलटसहित ७ जनासँगै सोल्टी होटलमा बसेका अन्य चालक दलका सदस्यले उडान भरेका छन् । सोमबार एयरलाइन्सका पाइलटसहित चालक दलका ७ जनामा कोरोना भइरस (कोभिड-१९) संक्रमण देखिएको थियो ।

तर संक्रमण पुष्टि भएको २४ घण्टा बित्न नपाउँदै सोही समूहसँग सोल्टी होटलमा बसेका अन्य चालक दलका सदस्यले यूएईका लागि गतराति नै उडान भरेको स्रोतले जानकारी दिएको छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटल सिल गरिएको थियो । तर सामान्य सावधानीसमेत नअपनाएर सोही समूहमा बसेका चालक दलका सदस्यले यूएईका लागि उडान भर्न दिनुमा एयरलाइनसको गम्भीर लापरवाही देखिन्छ ।

कोरोना महामारीका कारण विदेशबाट आउने हरेकले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम सरकारले नै लगाएको छ । तर विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा संलग्न जहाजका क्रु मेमबरमा नै कोरोना संक्रमण देखिएपछि उनीहरुकै समूहमा बस्ने अन्यलाई जहाज जिम्मा लगाउनु जोखिमपूर्ण हुन्छ । एउटै समूहमा बस्ने सबैको परीक्षणको रिपोर्ट आएपछि मात्र उडान भर्न दिनुपर्नेमा एयरलाइन्सको चरम लापरवाहीका कारण संक्रमण फैलन सक्ने जोखिम बढेको छ ।
साभार : एभिन्यूज खबर