राजदूत दाहाल बर्खास्त, पराजुली र राणाको निरन्तरता

काठमाडौं : सरकारले दुईवर्षे कार्यकाल रहँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा दाहाललाई सरकारले अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध थिए ।

बिज्ञापन

२०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि उनी माओवादी प्रवेश गरेका थिए । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत पाउने सेवा सुविधा रोकिएको छ । यसअघि सरकारले प्रचण्ड निकट लीलामणि पौडेललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो ।साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभएसम्म निरन्तरता दिने निर्णय गरेको छ ।