राजस्थानबाट उत्तरपूर्व हावा चल्दै, सलह पुन: नेपाल आउने सम्भावना बढ्यो

नेपालमा पुन: भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा बढेको छ । भारतको राजस्थानबाट उत्तरपूर्व वायु बहेको कारण त्यस क्षेत्रबाट सलह नेपाल प्रवेश गर्नसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

केन्द्रका प्रमुख एवं कीट विज्ञ रामकृष्ण सुवेदीले राजस्थानबाट पश्चिम दक्षिणबाट बहिरहेको हावा उत्तरपूर्व बहन थालेपछि त्यहाँ रहेका सलहका ठूला झुन्डहरु नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको बताएका हुन् । उनले भने,’राजस्थानबाट उत्तरपूर्व हावा बहनु भनेको नेपालतिर हो । त्यहाँ ठूलो झुन्ड छ । अहिलेकै अवस्थामा हावाको बहाव रह्यो भने हाम्रो देशमा पस्‍ने प्रवल सम्भावना छ । ‘

सलह अध्ययन गर्न गठित प्राविधिक कार्यदलका सदस्य एवं कीट विज्ञ सुनिल अर्यालले राजस्थानको सिकर आसपासका क्षेत्रमा करिब ४ सय हेक्टर क्षेत्रफलमा फैलिएका ५ वटा झुण्डहरु चुरु हुँदै पूर्व र उत्तरतर्फ साहजहाँपुर तथा सीतापुर क्षेत्रमा अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको बताए ।

‘अनुकूल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्‍व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वोत्तरतर्फ लाग्‍न सक्ने पूर्वानुमान गरिएको छ,’ अर्यालले भने,’यस्तो अवस्थामा हावाको बहावसँगै उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ । ‘

नेपालका सलह अध्यायन कार्यदलका प्रविधिक सदस्यहरुले पनि राजस्थानको धेरै ठूलो क्षेत्रमा यसको झुण्ड सक्रिय रहेकाले यही अवस्था रहे त्यो सलहको झुण्ड नेपाल प्रवेश गर्नसक्ने दावी गरेका छन् । तर केही विज्ञहरुले राजस्थानबाट हावा उत्तरपूर्वी वहेपनि त्यस क्षेत्रमा पानी परिरहेकाले त्यही बस्ने र कालोबादल लागेको बेला उनीहरु उड्न नसक्ने हुनाले नेपाल प्रवेश गर्ने सम्भावना न्यून रहेको पनि तर्क गरेका छन् ।

नेपालमा भदाैसम्म सलहको सम्भावना रहेको बिज्ञहरु बताउछन् । राजस्थानमा सलहको साना साना झुण्ड रहेको र तीनीहरुको पूर्ण बिकास हुन भदौसम्म लाग्ने हुनाले यसको नेपाल प्रवेश गर्ने सम्भावना करिब २ महिना मात्रै रहेको बताइएको छ ।

नेपालमा सलह नियन्त्रणका लागि कृषि मन्त्रालयले विभिन्न कार्य गरिरहेको छ । यसअघि पनि भारतबाट सलह नेपाल प्रवेश गरेका थिए । नेपालमा धेरै बालीनालीमा क्षति पुर्याएका सलह उच्च पहाडी क्षेत्रमा पनि देखा परेका छन् ।